केकीले सातौ जन्ममा भेटिन् काजी

काठमाडौं । नायिका केकी अधिकारी नयाँ फिल्म ‘काजी’ मार्फत दर्शकमाझ आउँदैछिन् । सामाजिक भावना, प्रेम र सम्बन्धको गहिराइ बोकेको यस फिल्मलाई लिएर उनी निकै उत्साहित देखिएकी छन्।

केकीले ‘काजी’ लाई केवल प्रेमकथा नभई विश्वास, त्याग र सम्बन्धको गहिरो संसारको रूपमा व्याख्या गरेकी छन्। ‘हामी वास्तविक जीवनमा पनि परिवार होस् वा आफूले प्रेम गरेको व्यक्ति, हामीलाई कहिलेकाहीँ म मात्रै बढी दिइरहेको छु भन्ने महसुस हुन्छ। मानव मनोविज्ञान नै त्यस्तो हुन्छ। तर ‘काजी’ को संसारमा भने त्यो सोचभन्दा बिल्कुल फरक र भावनात्मक गहिराइ भेटिन्छ,’ उनी भन्छिन् ।

फिल्मको कथालाई स्पष्ट पार्ने क्रममा केकीले रामायणको प्रसंग पनि जोडिन्। ‘राम र सीताको कथामा पनि सीताले रामका लागि धेरै त्याग गरेकी थिइन् भन्ने मलाई लाग्छ। वनवास गइन्, अग्निपरीक्षा दिइन्। तर ‘काजी’ को संसारमा काजिनीले काजीलाई त्यो स्तरभन्दा पनि माथि राखेर हेर्न सक्छिन्,’ उनले भनिन्, ‘फिल्ममा काजिनीले अनुभव गर्ने समर्पण, त्याग र प्रेमले यहाँ प्रेमले संसार थामेको छ भन्न सकिन्छ।।’

काजिनीको पात्रबारे बोल्दै उनले अर्को रोचक पक्ष पनि खुलाइन्। उनका अनुसार काजिनीलाई ‘काजी’ जस्तो श्रीमान पाउनु कुनै संयोग नभई अघिल्ला जन्महरूको पुण्यको फलजस्तो लाग्छ। उनले भनिन्,‘काजिनीले छ जुनीसम्म गरेको पुण्यको फल सातौं जन्ममा काजीलाई पाउनु हो भन्ने भाव छ।’

उनका अनुसार ‘काजिनी’ का लागि संसारमा सबैभन्दा ठूलो कुरा सम्बन्ध हो। काजीले आफूलाई जुन दृष्टिकोणबाट हेर्छ, त्यो प्रेम र विश्वास जोगाइराख्न उनी जे गर्न पनि तयार हुन्छिन्। ‘कजिनीका लागि माया, विश्वास र सम्बन्ध नै सबैभन्दा ठूलो कुरा हो, संसारका अरू सबै कुरा साना लाग्छन्,’ केकीले फिल्ममा कजिनी पात्रबारे आफ्नो अनुभव सुनाइन्। फिल्ममा उनको अपोजिटमा विपिन कार्की छन् ।