आमाको जन्मदिनमा सुमनले ल्याए आमा

काठमाडौं । आमाप्रतिको श्रद्धा, प्रेम र कृतज्ञतालाई संगीत र दृश्यको माध्यमबाट जीवन्त बनाउने प्रयास स्वरुप युवा फिल्म निर्देशक सुमन दाहालले ‘आमा’ बोलको म्युजिक भिडियो सार्वजनिक गरेका छन् । केही वर्षदेखि अमेरिकामा बसोबास गर्दै आएका सुमनले आफ्नी आमाको जन्मदिनलाई औपचारिक शुभकामनामा सीमित नराखी आमालाई नै गीतको भिडियो उपहार दिएका हुन् ।

परदेशमा रहेर पनि आमाको अनुहार, उनको माया, संघर्ष र त्यागलाई हरेक दिन सम्झिरहने छोराले आफ्नो भावनालाई शब्द, संगीत र दृश्यमार्फत यति सुन्दर ढंगले प्रस्तुत गरेका छन् सुमनले आफ्नो पेशा, आफ्नो कला र आफ्नो सिर्जनशीलतालाई आमाप्रतिको सम्मानमा समर्पित गरेका छन् । भिडियोमा सुमनले अभिनयका लागि बाहिरी कलाकारभन्दा धेरैजसो आफ्नै परिवारका सदस्यहरूलाई वास्तविक भूमिकामा उभ्याएका छन् ।

आमाको भूमिकामा तुलसीदेवी दाहाल देखिएकी छन् भने जेठी छोरीको भूमिकामा मन्दिरा दाहाल, जेठो छोराको भूमिकामा भुवन लोहानी, कान्छी छोरीको भूमिकामा गरिमा पाण्डे र कान्छो छोराको भूमिकामा सम्राट दाहालले जीवन्त अभिनय गरेका छन् । युवा आमाको भूमिकामा सुजिता सिटौला देखिएकी छन् भने बाल कलाकारहरू समीर दाहाल, साया भण्डारी, सावन लोहानी, अर्भी सुवेदी र अश्वत खनालले कथालाई जीवन्त बनाएका छन् ।

गायक प्रमोद खरेल र गायिका समीक्षा अधिकारीको स्वर रहेको गीतमा वसन्त सापकोटको संगीत छ । संगीत संयोजन राजु कार्कीले गरेका छन् भने रेकर्डिस्ट ज्ञानेन्द्र गिरी र मिक्सिङ÷मास्टरिङ प्रकाश केसीको छ । गीत ड्रिम्स स्टुडियोमा रेकर्ड गरिएको हो ।

भिडियो सम्पादन भूपेन्द्र अधिकारीले गरेका छन् भने छायांकन राजु केसीको रहेको छ । रङ संयोजन रेनिस फागोले गरेका छन् । मेकअप सिर्जा अधिकारीले गरेकी हुन् भने पोस्टर डिजाइन नहकुल खड्काले गरेका छन् । म्युजिक भिडियोको पोस्ट–प्रोडक्सन किन्डल सिने स्टुडियोमा गरिएको छ ।