काठमाडौं । अभिनेता माओत्से गुरुङको निर्देशनमा निर्माण भएको फिल्म ‘पेन्सन पट्टा’को विदेश प्रदर्शन अधिकार बिक्री हुन थालेको छ । आगामी भदौ २६ गते हरितालिका तीजको अवसरमा रिलिज हुन लागेको फिल्मको बेलायत र हङकङ प्रदर्शन अधिकार बिक्री भएको हो ।
लेखक तथा निर्देशक माओत्से गुरुङले फिल्मको कुनै पनि प्रचार सामाग्री सार्वजनिक नहुँदै विदेश प्रदर्शन अधिकार बिक्रीले उत्साहित बनाएको बताए । यो फिल्मको बेलायतको लागि सपन इन्टरटेन्टमेन्ट लिमिटेड र हङकङमा मेन ड्रागन लिमिटेडले रिलिज अधिकार खरिद गरेको छ ।
फिल्ममा दयाहाङ राई, सुनिल थापा, पुष्कर गुरुङ, पशुपति राई, गौमाया गुरुङ, बुद्धि तामाङ, विल्सनविक्रम राई, सोल गुरुङ, राज थापा काउछा, मनोज गुरुङ, अनुशा राई, लुनिभा तुलाधर, विश्वास गुरुङ, माया गुरुङ, यासिली लिम्बु, कुबिना गुरुङ, डिवी गुरुङ र प्रतिक्षा गुरुङ लगायतका कालाकारको अभिनय रहेको छ ।
माओत्से गुरुङ फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्मको कथा पनि निर्देशक गुरुङले नै लेखेका हुन् । यो फिल्म नामबाट भूतपूर्व लाहुरेको कथा जस्तो लागेपनि लोभी केटा कसरी दानी बन्छ भन्ने देखाउने निर्देशक तथा निर्माता गुरुङ बताँछन् ।
मीन कोन्मे गुरुङ (युके), भोज बहादुर गुरुङ (युके), माया गुरुङ (हङकङ) र सपना गुरुङको लगानी रहने फिल्मका प्रोडक्सन म्यानेजरमा डिबी गुरुङ हुन् । सुशन प्रजापतिको छायांकन रहेको फिल्मका कास्टिङ डिरेक्टर सुरज तमु र संगीतकारमा मनोज थापा मगर, शिव बराइली, सुरुङ गुरुङ छन् ।





