दमकबाट नेपथ्यको मुलुक यात्रा शुरु

काठमाडौं । नेपाली लोक रक व्याण्ड नेपथ्यले पूर्वी नेपालको दमकबाट आफ्नो नेपाल यात्रा शुरु गरेको छ । महोत्सवमा रमाइरहेको दमकमा नेपथ्यले स्थानीय सरस्वती उच्च माध्यमिक विद्यालयको प्रांगणमा पाँच हजार दर्शकमाझ आफ्नो प्रस्तुति दियो । पूर्वाञ्चलका फरक जिल्लाहरुको एउटा केन्द्रका रुपमा विकास हुँदैगएको यो सहरमा नेपथ्य चौथोपटक उपस्थित भएको हो । यसभन्दा अघिल्ला तीनवटै कन्सर्ट हलहरुमा आयोजना गरेको नेपथ्यले यसपाला दमकमा पहिलोपटक खुला आकास मुनी आफुलाई उभ्याएको थियो ।

कन्सर्टको सुरुवात नेपथ्यका दुइवटा चर्चित म्यूजिक भिडियोहरु ‘सा कर्णाली’ र ‘सम्झिराख’ देखाएर गरिएको थियो । छिमेककै पहाडी सहर धनकुटाबाट उदाएर मुलुककै प्रसिद्ध कवि बन्नपुगेका प्राध्यापक तुलसी दिवसले वाल्यकालमै यसै भेगमा सिर्जना गरेको गीत हो ‘सम्झीराख’। यस गीतलाई कन्सर्टको बेलामा दमकमै पहिलोपटक प्रस्तुत गरिएको हो । म्यूजिक भिडियोको लगत्तै मञ्चमा प्रवेश गरेको नेपथ्य टोलीले त्यसपछि सरुभक्त रचित ‘कुरुप अनुहार हो’ गीतबाट कार्यक्रम सुरुगरेको थियो । त्यसपछि ‘भेँडाको ऊनजस्तो’, ‘छेक्यो छेक्यो’ हुँदै ‘आँगनैभरि’ गाउने बेलामा गायक अमृत गुरुङले ब्याण्ड स्थापनाको बेलाका सम्झनाहरु सुनाए ।

यतिबेला आफ्नो स्थापनाको २५ औं वर्ष मनाइरहेको ब्याण्डले उसको त्यो पहिलो गीत सुनाउने बेला पृष्ठभूमिमा स्थापनाकालीन सदस्यहरुका सम्झनारुपी तस्बिर देखाइएको थियो । त्यसपछि अमृतले क्रमशः ‘शिरफूल शिरैमा’, ‘लामपाते सुरती’, ‘चरि म¥यो’, ‘जोमसोमे बजारमा’ हुँदै फेरि नेपथ्यको पछिल्लो एल्बम ‘ऐनाझ्याल’ मा समेटिएको चर्चित गीत ‘जोगले हुन्छ भेट’ सुनाएका थिए । कार्यक्रममा ‘तिमी पनि नेपाली’, ‘यो जीन्दगानी’, ‘कोशीको पानी’, ‘हिमाल चुचुरे’, ‘मै नाचे छमछमी’ हुँदै दर्शकहरुले सुरुदेखि माँग गर्दैआएको ‘रेशम’ र ‘तालको पानी’ सुनाइएको थियो ।

कार्यक्रममा ‘गाउँ गाउँबाट उठ’ र ‘रातो र चन्द्रसूर्जे’ जस्ता दर्शकलाई मुलुक र परिस्थितीसँग नजिक्याउने गीत पनि दमकका श्रोता दर्शकका निम्ति गाइएको थियो । कवि गोपालप्रसाद रिमालको त्यही जंगीनिशान गीतबाटै कार्यक्रमको बिट मारिएको थियो । स्थानीय युवाहरुको समूह थ्री इन्क भिजन, जय मिडिया र पुर्वाञ्चल रक्सले दमकमा नेपथ्यलाई प्रस्तुत गरेको हो । मुलुकको यात्रामा निस्केको नेपथ्य टोली अब माघे संक्रान्तिका दिन चितवनस्थित नारायणी नदीको किनारमा प्रस्तुत हुनेछ ।