वैशाखमा आउँदै तरकारीवाली अभिनित लम्फू

काठमाडौं । तरकारीवालीका रुपमा सामाजिक सञ्जालमा भाइरल बनेकी गोरखाकी कुसुम श्रेष्ठको डेब्यु अभिनय रहेको फिल्म ‘लम्फू’ नयाँ सालमा रिलिज हुने भएको छ । छायांकनको लामो समय लागेको यो फिल्म आगामी २०७५ वैशाख २८ गते रिलिज हुने भएको हो ।

यो फिल्मबाट कुसुमसँगै नव–नायक कबिर खड्काले पनि डेब्यु गरेका छन् । केही समय अघि मात्र कुसुमले फिल्मबाट आफूले पाएको पारिश्रमिक सामाजिक काममा खर्च गरिसकेको खुलाइसकेकी थिइन् । कबिरले ओस्कार इन्टरनेशनल कलेजबाट कलाकारितामा स्नातक तहको अध्ययन गरेका छन् । कबिर र कुसुमसहित यो फिल्ममा सलोन बस्नेत, मरिष्का पोखरेल, चाँदनी शर्मा, सञ्जित भण्डारी, कुशाग्र भट्टराईको पनि अभिनय छ ।

गोपालचन्द्र लामिछाने निर्देशित फिल्मले एक युवाको जीवनमा आईपर्ने अकल्पनिय घटनाहरु प्रस्तुत गर्छ । निर्देशक लामिछानेले फिल्ममा प्रेमकथा गौण रहने बताए । ‘यो फिल्म समय र परिस्थितिले मानिसलाई नायक र खलनायक दुबै बनाउछ भन्ने कथामा बनेको छ ।’ उनले भने । फिल्मलाई पपुलर मल्टिमिडियाको लागि शक्तिबल्दब घोरासैनीले निर्माण गरेका हुन् । निर्देशक लामिछानेले यसअघि पपुलर

मल्टिमिडियाका चार फिल्म निर्देशन गरेका थिए । ‘बोक्सी’, ‘द मिरर’, ‘किन लाग्छ माया’ र ‘ओ माई म्यान’ उनले निर्देशन गरेका थिए, जसमा सफल फिल्म ‘किन लाग्छ माया’ फिचर फिल्म हो ।

फिल्ममा भूपतिको लेखन, दिपक बज्राचार्यको छायांकन, हरि सिलवालको सम्पादन पुनम गौतमको कस्ट्युम डिजाइन, अर्जुन पोखरेलको संगीत छ ।