यारमा नयनका जीवनका कथा

काठमाडौं । आख्यानकार नयनराज पाण्डेको नयाँ कृति ‘यार’ सार्वजनिक भएको छ । मित्रहरुमाथि लेखिएको संस्मरणको संग्रहित पुस्तक शनिवार राजधानीमा सार्दुल भट्टराई, पुरुषोत्तम सुवेी, जय हमाल र राजवले संयुक्त रुपमा विमोचन गरे । यी अनुहार पुस्तककै पात्र हुन् । प्रश्नोत्तर शैलीमा सञ्चालन गरिएको उक्त कार्यक्रममा बोल्दै लेखिका शिवानीसिंह थारुले भनिन्, ‘सधैं आख्यान लिएर आउने नयनराज पाण्डे अहिले संस्मरणको सङ्गालो लिएर आएका छन् । तर ती संस्मरणहरु सनसनीपूर्ण कथाहरुभन्दा कम छैनन् । पाण्डेले संस्मरण ‘स्टोरी टेलिङ’को शैलीमा लेखेका छन्, जसले गर्दा ‘यार’ पढिरहँदा कुनै कथा पढिरहेकोजस्तो लाग्छ ।’

कार्यक्रममा बौल्दै लेखक पाण्डेले भने, ‘यारमा मैले आफ्ना साथीहरुसितका सुन्दरतम् या सुखदतम् पलहरुको कुरामात्र लेखेको छैन, कुरुप र दिगमिग लाग्दा क्षणहरुको कुरा पनि लेखेको छु । सम्बन्धको गरिमाको कुरा त लेखेकै छु, सम्बन्धविच्छेदका दिक्क लाग्दा कुराहरु पनि लेखेको छु । माया र प्रेमका कुरामात्र लेखेको छैन, घृणा र चोटका कुरा पनि लेखेको छु ।’

उनले थपे, ‘पुस्तक लेख्न शुरु गर्दा मैले सोचेको थिएँ, म यसमा आफ्ना साथीहरु या साथीजस्ता मानेका आदरणीय अग्रजहरुका अनेक अनेक कमिकमजोरी खोतल्ने छु । ती सबै कमिकमजोरीलाई निडर भएर उजागर गर्नेछु । तर, मलाई के थाहा, अरुभित्रका कमजोरी खोज्दाखोज्दै मैले आफैंभित्र भेट्ने छु आफ्ना सहस्र कमजोरीहरु ।’ पुस्तक फाइनप्रिन्टले प्रकाशन गरेको हो । हार्डकभरमा निक्लेको पुस्तकको मूल्य ४ सय ७५ रुपैयाँ रहेको छ ।