आमिरभन्दा हिट बरुण

मुम्बई(एजेन्सी) । बलिउड अभिनेता बरुण धवन सन् २०१७ मा बक्स अफिसमा निकै हिट साबित भए । उनको दुई फिल्म ‘बद्रीनाथकी दुल्हनिया’ र ‘जुडुवा २’ले बक्स अफिसमा सय करोड माथिको व्यापार गरे । बरुण यतिबेला सोजित सिरकारको फिल्म ‘अक्टोबर’को पोष्टप्रोडक्सनको काममा व्यस्त छन् । यो फिल्ममा उनी बनिता सन्धु नामकी नयाँ नायिकासँग रोमान्स गर्दैछन् । बरुणका लागि यतिबेला अर्को नयाँ खुशीको खबर छ ।

फिल्म हलमा हिट बनेको ‘जुडुवा २’ले टेलिभिजनमा पनि उत्तिकै सफलता पाएको छ । यो फिल्मलाई टेलिभिजनमा २ दशमलब ४५ करोड दर्शकले हेरेको तथ्यांक सार्वजनिक भएको छ । यो फिल्मले आमिर खानको फिल्म ‘दंगल’को रेकर्डलाई पनि तोडेको छ । आमिरको फिल्मले टेलिभिजनमा २ दशमलब ३९ करोड दर्शक पाएको थियो ।

बरुणको नयाँ फिल्म ‘अक्टोबर’ आगामी अप्रिलको १३ तारिखमा थिएटरमा आउँदैछ । उनी सरत कटरियाको फिल्म ‘सुई धागाः मेड इन इण्डिया’मा पनि अभिनयको तयारीमा छन् । यो फिल्म महात्मा गान्धीको ‘मेड इन इण्डिया’बाट प्रभावित छ । फिल्मको निर्माण यशराज फिल्मस्ले गर्नेछ । फिल्ममा अनुष्का शर्मा बरुणको अपोजिटमा हुनेछिन् ।