सुरक्षाकर्मीको अवरोधमा पनि गुञ्जिए राजेशपायल

बिर्तामोड । विदेशमा हुने कार्यक्रममा सुरक्षाका कारण गायकगायिका तथा कलाकारले आफ्नो प्रस्तुति दिन नपाएको खबर आइरहन्छन् । तर नेपालमा चाहिँ यस्तो विषय कमैमात्र सुनिन्छन् । भर्सटायल गायक राजेशपायल राई पनि यसपटक स्वदेशमै यस्तो समस्यामा परे ।यशोदा फुड्सले आफ्नो उत्पादन करेन्ट चाउचाउको प्रवद्र्धन गर्न बिर्तामोडको सुगम पेट्रोल पम्प छेउको मैदानमा शनिबार गरेको ‘करेन्ट मनोरञ्जन मेला’मा हजारौ दर्शकमाझ आफ्नो प्रस्तुति दिन स्टेज जान लाग्दा राजेशपायलले यस्तै समस्या व्यहोरे ।

दिउँसो २ बजेदेखि सुरु भएको कार्यक्रममा साँझ ५ बजे स्टेज चढ्न लाग्दा राजेशपायललाई सुरक्षाकर्मीले नै कार्यक्रम सकाउन भनेपछि राजेशले आफ्नो एउटा गीत गाउँदै एक घण्टा समय थप्न आग्रह गरे । ‘हामी कलाकारहरु स्टेज चढे पछि गीत गाउन पाउनुपर्छ । दर्शकले पनि मनोरञ्जन लिन पाउनुपर्छ, ’राजेशपायलले सुरक्षाकर्मीलाई भने,‘हामी सबै नियम कानून पालना गरेर मनोरञ्जन प्रदान गर्नेछौ ।’

यति भनेपछि ‘दर्शन नमस्ते’, ‘उकालीमा जाँदा जाँदा’, ‘म त मर्छु कि क्या हो ठूली’, ‘म ज्यान दिन्छु’, ‘दर्पण छाया’लगायतका आधा दर्जन गीतहरु मात्र गाए । राजेशपछि आएका पपगायक सबिन राईले ‘गुराँसको फेद’, ‘कालो कालो रात’, ‘तिमी नै’, ‘आउँछु’ लगायतका आधा दर्जन गीत गाए ।

मेलामा अन्य गायकगायिकाहरु श्रीकृष्ण लुइँटेल, डिल्ली फोम्बो, मिलन अमात्यले आफ्ना चर्चित गीत गाउँदा हाँस्य कलाकार जितु नेपालले समसामयिक खुराक पस्कँदै दर्शक हँसाए । एभरेष्ट क्रुको बि बोइङ र जादुगर बलराम सरकारको जादुले पनि दर्शकहरुलाई मनोरञ्जन दिएको थियो । कार्यक्रममै यशोदा फुड्सको प्रबन्ध निर्देशक अर्जुन भण्डारी, ब्रान्ड एम्बासेडर सन्ध्या केसीलगायतले करेन्ट चाउचाउ सार्वजनिक गरेका थिए ।