एउटै फिल्मलाई दश वर्ष समय दिँदै आमिर

मुम्बई(एजेन्सी) । बलिउडका मिस्टर परफेक्शनिस्ट आमिर खान हालका दिनमा आउन लागेको फिल्म ‘ठग्स अफ हिन्दोस्तान’को सुटिङमा व्यस्त छन् । फिल्ममा उनकी नायिका क्याट्रिना कैफले आमिर र प्रभु देवासँगको एक तस्वीर सार्वजनिक गरेकी थिइन् । यो फिल्मको काममा व्यस्त भइरहँदा उनले एउटा आश्चर्यजनक इच्छा व्यक्त गरेका छन् ।

धेरै वर्ष अघिदेखि आमिर महाभारतमा आधारित फिल्म बनाउने इच्छा राखिरहेका थिए । महाभारतमा उनी कृष्णको भूमिका निभाउन चाहन्छन् । तर यति ठूलो प्रोजेक्टमा काम गर्नका लागि आमिरलाई डर पनि नलागेको हाइन् । ‘म आफ्नो भूमिकालाई पुरा न्याय दिन चाहन्छु । महाभारतमा कृष्णको भूमिकाका लागि निकै मेहनत गर्नुपर्नेछ । त्यसकारण म यो प्रोजेक्टका लागि निकै गम्भीर पनि भएको छु ।

आमिरको यो महत्वाकांक्षी फिल्म महाभारतको काम शुरु भइसकेको छ । हाल फिल्मको प्री प्रोडक्सनको काम भइरहेको छ । यो फिल्मलाई ५ भागमा निर्माण गरिनेछ । अर्थात १० वर्षसम्म आमिर यही फिल्ममा काम गर्नेछन् । सबै सिक्वेलको निर्देशन ‘सीक्रेट सुपरस्टार’का निर्देशक अद्वैत चंदनले नै गर्नेछन् ।

आमिर एकपटक एउटै मात्र फिल्ममा काम गर्दछन् । कुनै फिल्ममा साइन गर्नुअघि उनी आफ्नो भूमिकालाई कसरी ढाल्ने भनेर सोच्दछन् । कृष्णको भूमिकाका लागि उनलाई शारीरिक रुपमा पनि निकै मेहनत गर्नुपर्नेछ ।  उनी महाभारत निर्माणमा जुटे भने एक फिल्मलाई उनले दुई वर्षको समय दिनेछन् । बाँकी समय महाभारतमै बित्नेछ ।