सर्ट फिल्ममा आशुसेनको नजर

काठमाडौं । फिल्म क्षेत्रमा नयाँ अनुहारलाई प्रवेशमा प्राथमिकता दिँदै आएको आशुसेन फिल्मस्ले छोटा फिल्महरुको प्रतियोगिता आयोजन ागर्ने भएको छ । ‘सबै कथाहरु आफैमा उत्कृष्ट हुन्छन, कथाहरुले कसैका सम्झना बोकेका हुन्छन, मानिसका भावना देखि इतिहासका गाथा सबै कथामै भेटिन्छन’ भन्ने तथ्यलाई शिरोपर गर्दै आशुसेनले ‘ एएसएफ लघु चलचित्र प्रतियोगिता’ गर्न लागेको हो ।

आयोजकका अनुसार प्रतियोगितालाई दुई चरणमा विभाजन गरिएको छ । पहिलो चरणमा स्क्रिप्टर स्टोरीलाइनबीच प्रतिस्पर्धा हुनेछ भने दोस्रो चरणमा फिल्मबीच प्रतिस्पर्धा हुनेछ । पहिलो चरणमा प्रतियोगीहरुले आफ्नो फिल्मको स्क्रिप्ट फाल्गुन १ सम्ममा आसुसेन फिल्म्स पठाइसक्नुपर्ने छ वा आसुसेन फिल्म्सको कार्यालयमा आएर बुझाउन पर्नेछ । नेपालका ख्याती प्राप्त पटकथा लेखक तथा आशुसेनका कर्मचारीको निर्णायक मण्डलले फाल्गुन १५ मा परिणाम सार्वजनिक गर्नेछ । पहिलो चरणको प्रतियोगिताबाट उत्कृष्ट १० प्रतियोगी छानिनेछ र उनीहरुलाई फिल्म निर्माणका लागि जनही २५ हजार प्रदान गरिनेछ ।

दोस्रो चरणमा फिल्म निर्माणका लागि उत्कृष्ट १० प्रतियोगीलाई रकम हस्तान्तरण गरिसकेपछि, फिल्म निर्माणका लागि २ महिनाको समय दिइनेछ । त्यसैबीच प्रतियोगीहरुलाई फिल्म निर्माण सम्बन्धि तालिम पनि दिइनेछ । प्रतियोगीले आफ्नो फिल्म वैशाखको १५ गते सम्म बुझाइसके पछि उक्त फिल्म आसुसेन फिल्म्स्को युट्युब च्यानलमार्फत अपलोड गरिनेछ ।

२०७५ भाद्र १३ गते प्रतियोगिताका विजेताहरु निर्णायक मण्डलबाट छानिनेछन । विजेतालाई ‘उत्कृष्ट कलाकार’, ‘उत्कृष्ट पटकथा’, ‘उत्कृष्ट निर्देशक’ र ‘उत्कृष्ट चलचित्र’लाई पुरस्कृत गरिनेछ । युट्युबमा सबैभन्दा बढी दर्शक पाउने फिल्मले ‘पब्लिक च्वाइस’ अवार्ड पाउनेछ । विजेता सबैलाई आसुसेन फिल्म्स प्रोडक्सनबाट आगामी दिनमा निर्माण हुने फिल्ममा काम दिइनेछ ।