फरक पाइलामा ७० बढी कलाकार

काठमाडौं । आगामी माघ ४ गते राजधानीको जमलस्थित राष्ट्रिय नाँचघरमा हुने ‘वेस्मा लाङ्योक’ अर्थात् फरक पाइलाको दोस्रो सस्करणमा एकसाथ ७० बढी कलाकार स्टेजमा देखिने भएका छन् । कार्यक्रममा लिम्बू समुदायका कनिष्टदेखि वरिष्ठसम्मका ७० भन्दा बढी कलाकार एकैसाथ स्टेजमा प्रस्तुत हुन लागेका हुन् ।

याक्थुङ हाक्पारे पालम सयङ र राष्ट्रिय नाचघर आयोजक रहेको विशेष सांस्कृतिक कार्यक्रमका लागि संगीत संयोजन संगीतकार तथा प्राज्ञ अशोक लोहरुङ राईको ‘अन्तरा सांगीतिक समूह’ले गदैछ । कार्यक्रममा लिम्बूहरुको धान नाच, च्याब्रुङ नाचलगायतका मनोरञ्जनात्मक गतिविधि एउटै स्टेजमा देखाइनेछ ।

आयोजक संस्थाकी अध्यक्ष रुपा आङबुहाङका अनुसार प्रत्यक्ष गीतसंगीत पस्कनका लागि ३० जना वाद्यवादक स्टेजमा देखिनेछन् । संगीतकार अशोकले संगीत गरेका लिम्बू भाषाका गीतहरुलाई विभिन्न गायक÷गायिकाको साथमा प्रस्तुत गर्नेछन् ।

‘नृत्य र गीत संगीतका लागि रिहर्सल पूरा भएको छ ।’ अध्यक्ष रुपाले भनिन् । कार्यक्रममा अशोकको एकल संगीत रहने जनाइएको छ । यो कार्यक्रम गत वर्षबाट सुरु गरिएको हो । लिम्बू गीतसंगीत तथा कला र संस्कृतिको प्रवद्र्धन गर्ने कार्यक्रमको मुख्य उद्देश्य रहेको रुपाले बताइन् ।