दोहा कन्सर्टमा अनमोलदेखि सुष्मासम्म

काठमाडौं । अंग्रेजी नयाँवर्षको आगमनसँगै नेपाली कलाकारलाई विदेशमा निमन्त्रणा गरी कार्यक्रम गर्ने चलन ह्वात्तै बढेको छ । दैनिक रुपमा कोही न कोही कलाकार विदेशमा हुने कार्यक्रमका लागि गइरहेका छन् । विदेशी भूमिमा नेपालीको बाक्लो उपस्थिति हुन थालेपछि पनि त्यसको प्रभाव नेपाली कला क्षेत्रमा देख्न सकिन्छ । यसै क्रममा कतारको दोहामा नेपाली कलाकारको उपस्थितिमा ‘नेप्लिज कन्सर्ट २०१८’ हुने भएको छ । दोहाको र्याडिसन ब्लु होटलमा भ्यालेन्टाइन डेको छेको पारेर कार्यक्रम हुन लागेको हो ।

कन्सर्टमा पछिल्लो समयमा पाश्र्व गायनमा हिट बनेका पप गायक सुगम पोखरेल, अर्का गायक अभिनाष घिसिङ र ‘उध्रिएको चोली’ आइटम गीतबाट हिट भएकी सुष्मा कार्कीको विशेष प्रस्तुति हुनेछ । कार्यक्रमको मास्टर अफ सेरेमोनीको भूमिका चर्चित भिजे तथा सञ्चारकर्मी विवेक खतिवडाले गर्नेछन् ।

आयोजकका रुपमा विक्रान्त जंग कार्की, केशव भट्टराई तथा जीवन संसार रहेका छन् । यो कन्सर्टमा सदाबहार नायक भुवन केसी र उनका अभिनेता पुत्र अनमोल केसीको पनि उपस्थिति हुने आयोजकले जनाएका छन् । अनमोल अभिनित फिल्म ‘कृ’ आगामी माघ २६ गतेबाट अल नेपाल रिलिज हुँदैछ ।