एयरपोर्टको झमेलामा फँसेका यी सेलिब्रेटी

मुम्बई(एजेन्सी) । कुनै मुलुकको प्रतिष्ठा कुन किसिमले त्यहाँ बस्ने व्यक्तिको लागि अर्को मुलुकमा पुग्दा बेइज्जतको कारण बन्छ भन्ने उदाहरण अहिले बलिउडमा पाकिस्तानी नायिका सबा कमरले भोगिरहेकी छन् ।  सबाको अश्रु मिश्रित भिडियोले अहिले सामाजिक सञ्जालमा निकै चर्चा पाइरहेको छ । उनले भिडियोमा एक बलिउड फिल्मको सुटिङका लागि दोस्रो देशमा जाँदा आफूलाई एयरपोर्टमा रोक लगाइएको र कडा अनुसन्धान पछि मात्र आफूलाई एयरपोर्टबाट बाहिर जान दिइएको बताएकी छन् । उनीबाहेक अन्य भारतीय प्राविधिक सदस्यलाई सुरक्षा जाँचमा कुनै समस्या भएन । किनकी सबैको पासपोर्टमा पाकिस्तान लेखिएको थियो ।

आफ्नो देशभन्दा बाहिर सुटिङमा वा काममा जाँदा एयरपोर्टमा समस्या झेल्नेमा सबा एक उदाहरण मात्र हुन् । विदेशी भूमिमा बलिउड बादशाह शाहरुख खानदेखि धेरै लोकप्रिय बलिउड सेलिब्रेटी पनि यस्तै समस्यामा परेका छन् । केही समय अघि अमेरिकाको न्यूजर्सी नेवार्क इन्टरनेशनल एयरपोर्टमा शाहरुखलाई उनको थर ‘खान’को कारण कैयौं घण्टा डिटेन गरिएको थियो । शाहरुख आफ्नो फिल्म ‘माइ नेम इज खान’को प्रवद्र्धन गर्न अमेरिका जाँदा उनले एयरपोर्टका कर्मचारीको झमेला व्यहोर्नुपरेको थियो । यो फिल्ममा शाहरुखले ‘मेरो नाम खान हो र म आतंककारी होइन’ भन्ने सन्देश दिएका छन् ।

मलयलाम सुपरस्टार ममूटीलाई न्यूर्योकको जेएफके एयरपोर्टमा केही समय अघि रोकेर निकै गहन अनुसन्धान गरियो । उनको नाम मुहम्मद कुट्टी इस्माइल भएरै उनलाई प्रहरीले केरकार गरेको थियो । विनम्र स्वभावकी ममूटीले यो विषयलाई ठूलो बनाइन् । उनले हरेक देशको आफ्नो कानून र व्यवस्था हुने भएकाले त्यसको सम्मान गर्नुपर्ने प्रतिक्रिया दिएका थिए ।

त्यसो त विदेशमा मात्र होइन भारतीय एयरपोर्टमा पनि सेलिब्रेटीलाई संदिग्ध अपराधी सरह कडा रुपमा केरकार गरिएको छ । यस्तो सेलिब्रेटीमा पहिलो नम्बरमा विपाशा बसु छिन् । बिपाशा लण्डनबाट फर्किइरहँदा मुम्बईको छत्रपति शिवाजी इन्टरनेशनल एयरपोर्टमा उनको ठूलो सपिङ ब्यागको कारण कस्टमले रोकेको थियो । उनले कारवाहीस्वरुप १२ हजार रुपैंयाँ जरिवाना तिर्नुपरेको थियो ।

फ्रान्सको ‘कान्स फिल्म फेस्टिबल’बाट फर्किदै गर्दा नायिका मिनिषा लम्बालाई मुम्बई एयरपोर्टमा सुरक्षा अधिकारीले अवरोध गरेका थिए । उनीसँग ५० लाख मूल्यको गहना भेटिएपछि सुरक्षाकर्मीले त्यसलाई नियन्त्रणमा लिएका थिए । उनलाई रिहाई गर्नु अघि १६ घण्टासम्म अनुसन्धान गरिएको थियो । मिनिषालाई आफूलाई केही जानकारी नभएर आएको बताएकी थिइन् ।

पाकिस्तानी गजल गायक राहत फतेह अली खान पनि नयाँदिल्लीको इन्दिरा गान्धी एयरपोर्टमा यस्तै मामलामा फसादमा परिसकेका छन् । उनीसँग ६० लाख रुपैंयाँ बराबरको अघोषित रुपैंयाँ प्रहरीले बरामद गरेको थियो । प्रहरीले उनको पासपोर्ट जफत गरेर उक्त पैसाको स्रोतको अनुसन्धान गरेको थियो । उनलाई प्रहरीले एक दिनसम्म हिरासतमा राखेको थियो ।