अनमोलसँग भिड्दै अक्षय कुमार

काठमाडौं । आगामी माघ २६ गते रिलिज हुने तयारीमा रहेको अनमोल केसी अभिनिति फिल्म ‘कृ’को भीडन्त बलिउड अभिनेता अक्षय कुमारको फिल्म ‘पेडमेन’ सँग हुने निश्चित भएको छ । यसअघि बलिउड निर्देशक संजय लीला भन्सालीको फिल्म ‘पद्मावत’सँगै अक्षयको फिल्म प्रदर्शन हुने निश्चित भइरहँदा अक्षयको फिल्म एक साता पछि सर्दै फेब्रुअरी ९ मा रिलिज हुन लागेको हो ।

अक्षय कुमार र निर्देशक भन्साली शुक्रबार भारतीय पत्रकारमाझ उपस्थित हुँदा अक्षयले सञ्जयको फिल्म बजेटको हिसाबले ठूलो फिल्म भएको र आफ्नो लगानी उठाउन ठूलो दाउ लगाएकाले आफूले फिल्म पछि सारेको खुलाए । ‘भन्सालीजीले मलाई आफ्नो फिल्म ‘पेडमेन’लाई एक साता पछि सार्न आग्रह गर्नुभयो । किनकी उहाँको फिल्मले पछिल्लो दिनमा ठूलो समस्या झेलिरहेको छ । फिल्मको बजेट पनि महंगो छ । हामी सँगै आउन कुनै समस्या थिएन । तर भन्सालीजीको समस्या बुझेर नै मैले उहाँलाई सोलो आउने माहौल बनाइदिएँ ।’ उनले भनेका छन् ।

अक्षयको फिल्म यसअघि २६ जनवरीमा रिलिज हुने तयारीमा थियो । तर पछि यो मितिबाट पनि एक हप्ता पछि सरेको थियो । सेनिटरी प्याडको विषयलाई लिएर अक्षयकी पत्नी ट्वींकल खन्नाको किताब ‘द लेजेन्ड अफ लक्ष्मीप्रसाद’को एक भागमा आधारित रहेर सत्यकथामा फिल्म बनाइएको हो । नयाँ मितिमा अक्षयको फिल्म ‘अय्यारी’सँग भिड्दैछ । यो फिल्ममा सिद्धार्थ मल्होत्रा र मनोज बाजपेयीको अभिनय छ ।

सुवास इन्टरटेन्मेन्टको ब्यानरमा द सुपर काजोल फिल्मस प्रस्तुतकर्ता रहेको फिल्म ‘कृ’मा सुरेन्द्र पौडेलको निर्देशन छ । फिल्ममा अनमोलसँगै अदिती बुढाथोकी, अनुपविक्रम शाही, कामेश्वर चौरासिया, सरोज खनाललगायका कलाकारको अभिनय छ । सुवास गिरी र भूवन केसीले मिलेर बनाएको फिल्मका कार्यकारी निर्माता कमल गिरी हुन् । श्री पराजुली फिल्मका सह–निर्माता छन् ।