मुसुक्कको रिमेकमा भीमसेन

काठमाडौं ।२५ वर्ष अघि ‘मुसुक्क हासी दिदा ज्यानै लुट्यो’ गीत गाएर चर्चामा आएका गायक भीमसेन टी लामाले यसैको रिमेक लिएर आएका छन् । उनले यो रिमेक गीत सोमबार सार्वजनिक गरेका हुन् । ‘म योबीचमा फिल्म क्षेत्रमा व्यस्त भए अब गीत सङ्गीत क्षेत्रलाई नै निरन्तरता दिन्छु यसको पहिलो कोशेली मेरै चर्चित गीत ‘मुसुक्क हासी दिदा ज्यानै लुट्यो’ लिएर फेरि दर्शक÷स्रोतामाझ आएको छु’, उनले भने । विश्व बल्लभको शब्द रहेको गीतमा शम्भुजित बासकोटाको संगीत छ ।

कुनै समय निक्कै चर्चामा रहेको यो गीतको रिमेक भिडियोमा श्याम पाण्डे र विनिता वलीलाई फिचरिङ गरिएको छ जसलाई संजय पाण्डेले निर्देशन गरेका छन् । विनोद तामाङको कोरियोग्राफर रहेको गीतको भिडियोलाई क्षितिज महर्जनले छायाँकन गरेका हुन् । यसलाई भकारी म्युजिकले बजारमा ल्याएको हो ।

फिल्म ‘सीमा रेखा’बाट नेपाली फिल्ममा प्रवेश गरेका भीमसेनले ‘विषालु’, ‘कस्तो सम्झौता’, ‘अंशवण्डा’, ‘देश परदेश’, ‘परदेशी कान्छा’लगायतका फिल्ममा अभिनय गरिसकेका छन् ।