नेपाली गाउँमा जर्मन अभिनेत्री इमिलिया

काठमाडौं । जर्मन अभिनेत्री इमिलिया सुचलले नेपालका विभिन्न गाउँको हालै भ्रमण गरेकी छन् । प्लान इन्टरनेशनल जर्मनीकी दूतसमेत रहेकी उनले हालै नेपाल भ्रमणका क्रममा विभिन्न समुदायको भ्रमण गरेकी हुन् । आफ्नो पहिलो नेपाल भ्रमणका क्रममा उनले एक साता मकवानपुरमा प्लान इन्टरनेशनल नेपालको कार्यक्षेत्र रहेका समुदायमा किशोरी र बालबालिकाहरुसँग अन्तरक्रिया गरेकी थिइन् ।

२४ बर्षीया इमिलियाले प्लान इन्टरनेशनलकी एक प्रत्याभूत बालिकालाई भेटेर समुदायमा बालबालिकाको अवस्था र संस्थाको प्रत्याभूत कार्यक्रमको प्रभावबारे जानकारी लिएकी थिइन् । अभिनेत्री इमिलियाको भ्रमण टोलीमा उनका फोटोग्राफर र पत्रकारसहित ५ जना आगन्तुक थिए । उहाँले मकवानपुरको आमभञ्ज्याङस्थित जनक माध्यमिक विद्यालयमा विद्यार्थी, शिक्षक र विद्यालय व्यवस्थापन समितिका सदस्यहरुसँग अन्तरक्रिया पनि गरिन् । त्यस क्रममा उनले विद्यालय परिसरमा आयोजित साँस्कृतिक कार्यक्रम हेरेकी थिइन् ।

उनले आमभञ्ज्याङमा युवा महिला समूहद्वारा सञ्चालित महिला सहकारीको भ्रमण गर्दा उनको टोलीलाई १० जना महिलाहरुले सहकारीको सफलता र उपलव्धिबारे जानकारी गराएका थिए । उक्त सहकारी प्लान इन्टरनेशनल नेपालको सहयोगमा स्थापना भएको हो । भ्रमणको छैटौं दिन इमिलियाले जिल्लाको शान्ति बहिरा स्कूल र गितामा अध्ययनरत अपाङ्गता भएका विद्यार्थीमाझ पुगेर उनीहरुको अवस्थाबारे जानकारी लिइन् । २०७२ बैशाखको भूकम्पले क्षतिग्रस्त विद्यालयमा प्लान इन्टरनेशनल नेपालको सहयोगमा थप भवन बनेपछि उक्त विद्यालयका विद्यार्थीले अपाङ्गतामैत्री शैक्षिक वातावरणको सुविधा पाएका छन् ।

इमिलियाले भूकम्पबाट विस्थापित भई मकवानपुरको गोल्मोडमा अस्थायी टहरा निर्माण पश्चात् बसिरहेका समुदायसँग भेटी उनीहरुको अवस्थाबारे जानकारी लिइन् । उनले बज्रबाराहीमा प्लान इन्टरनेशनल नेपालको सहयोगमा निर्मित सुत्केरी केन्द्रको अवलोकन गरेकी थिइन् । इमिलियाले तसारस्थित दुर्गा आधारभूत विद्यालयको अवलोकनसँगै सामाजिक कार्यकर्ता चमेली वाइवासँग भेट गरिन् ।

रुसमा जन्मिएकी अभिनेत्री इमिलियाले सन् २००५ बाट फिल्म करिअर शुरु गरेकी हुन् । फिल्मसँगै उनले जर्मनीमा थुप्रै टेलिभिजन कार्यक्रममा पनि अभिनय गरेकी छन् । उनले अभिनय गरेको ‘हाइ सोसाइटी’ र ‘युथ विथ आउट गड’ फिल्म रिलिजको तयारीमा छन् । फिल्म करिअर बाहेक इमिलियाले विभिन्न समस्या भोगिरहेका बालबालिकाका लागि सहयोग गर्दै आएकी छन् । यसै क्रममा उनले गतबर्ष फिलिपिन्समा प्लान इन्टरनेशनलले सञ्चालन गरेको विपद् राहत सम्बन्धी परियोजनाको भ्रमण गरेकी थिइन् ।