नाचघरमा केलाङ र धान नाच गुञ्जिँदा…

काठमाडौं । राष्ट्रिय नाचघरको प्रेक्षालयमा गत बिहीबार पूर्वेली गाउँघर र रहनसहन झल्कियो । खरले छाएको सुन्दर घरले स्टेजको पृष्ठभूमि पूर्वी पहाडी गाउँघरको स्मरण गराउँदा केलाङ र धान नाचले लिम्बू समुदायको संस्कृति झल्कायो । स्टेजमा एक हुल केलाङ ग्रुप (च्याब्रुङ नाच समूह) छिर्दा दर्शक चकित परे ।

लिम्बू कला, संस्कृति र रहनसहन झल्किने कार्यक्रम ‘वेस्मा लाङ्योक–२’ अर्थात् फरक पाइला प्रस्तुत हुँदै थियो । याक्थुङ हाक्पारे पालम सयङ र राष्ट्रिय नाचघरको आयोजना रहेको कार्यक्रममा ७० भन्दा बढी लिम्बू समुदायका चर्चित कलाकार प्रस्तुत भए ।  केलाङबाट सुरु भएको कार्यक्रममा तङसिङ, धाननाच, ख्याली र मुन्धुमजस्ता लिम्बू समुदायको परम्परगत कला, संस्कृति झल्किने गरी कलाकारले आफ्नो कला प्रस्तुत गरेका थिए ।

कार्यक्रममा संगीतकार तथा प्राज्ञ अशोक लोहरुङ राईको एकल संगीतमा कलाकारहरुले लिम्बू भाषाका गीत तथा नृत्य प्रस्तुत गरिरहँदा धेरैको मन गाउँघर पुगेको थियो । धाननाच र केलाङजस्ता परम्परागत संस्कृतिको संरक्षण गर्नका लागि राजधानीमा ‘वेस्मा लाङयोक’ विशुद्ध लिम्बू भाषाको सांगीतिक कार्यक्रम सुरु गरिएको याक्थङ हाक्पारे पालम सयङले अध्यक्ष रुपमा आङबुहाङले बताइन् ।

नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति तथा आयामेली कवि वैरागीको काइँलाको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा भारत सिक्किमका वरिष्ठ कवि एवं साहित्यकार बिबी मुरिङ्लालाई अभिनन्दन गरिएको थियो । लिम्बू भाषा, साहित्य र लिपीमा उल्लेख्य योगदान गरेको भन्दै मुरिङ्लालाई अभिनन्दन गरिएको सयङका महासचिव सैलेन्द्र थेबेले बताए ।

कार्यक्रममा संजय तुम्रोक, कुशल थलङ, सुसन साम्सोहाङ, पदम राई, निर्मल सुब्बा, मोहन मादेन, भीमप्रसाद तुम्बाहाम्फे, गोविन्द चेम्जोङ, देशु सुहाङ, कमला आङ्बुङ, सिता सिंगक, प्रकृति थलङ, श्रेयसी चेम्जोङ, जनुरानी चेम्जोङलगायतका गायक÷गायिकाले लिम्बू भाषाका गीतसंगीत प्रस्तुत गरेका थिए । त्यस्तै बबिता फोम्बो, लक्ष्मी योङहाङ, खुश्बु चेम्जोङ, गीता राई विमला खजुम, मेनुका सावदेन, भीम थेबे, विशाल सेनेहाङ, उदय बेघा, विवेक बेघा, संगीता आँखेवा, सन्तोष लिम्बू, सागर खजुम, केशर निङलेखुलगायतले नृत्य देखाएका थिए ।