ओमविक्रमको सहयोगार्थ अमेरिकामा सांगीतिक कार्यक्रम

काठमाडौँ । नेपाली ‘पप किङ’का रुपमा परिचित गायक ओमविक्रम विष्टको स्वास्थ्योपचारका लागि आर्थिक सहयोग संकलन गर्न शनिबार संयुक्त राज्य अमेरिकाको भर्जिनियामा सांगीतिक तथा सांस्कृतिक कार्यक्रम आयोजना हुने भएको छ ।

गायक विष्ट केही समयदेखि मिर्गौला सम्बन्धी रोगबाट अस्वस्थ छन् । दुवै मिर्गौला प्रत्यारोपणका लागि विष्टलाई केही रकम सहयोग गर्ने अभिप्रायले इन्टरनेसनल नेप्लिज आर्टिस्ट सोसाइटी (इनास) को आयोजनामा उक्त कार्यक्रम हुन लागेको वासिङ्टन डिसीबाट दीपक शर्माले जानकारी दिए ।

‘सहयोगमा एकजुट’ भन्ने नाराका साथ आयोजना हुने कार्यक्रममा गायक विष्ट स्वयं उपस्थित हुने र संकलित रकम कार्यक्रममै उनलाई हस्तान्तरण गरिने बताइएको छ । कार्यक्रममा कलाकार सरोज खनाल, रीमा विश्वकर्मा, निशा अधिकारी, शिवहरि पौडेल, किरणप्रताप केसीलगायतले आआफ्नो कला प्रस्तुत गर्नेछन् ।

विसं २०२० को दशकबाट सांगीतिक यात्रा आरम्भ गरेका विष्टले पप, आधुनिक, राष्ट्रिय, लोकगीत र भजन गरी २ सय भन्दा धेरै गीतमा स्वर दिएका छन् । विष्टलाई आर्थिक सहयोग संकलन गर्ने उद्देश्यले यसअघि पनि अमेरिकाका विभिन्न शहरमा सांगीतिक कार्यक्रम आयोजना भइसकेका छन् ।