राज्जा नाजिरसँग रानी केकीले मनाइन् जन्मदिन !

काठमाडौं । नायिका केकी अधिकारीले आफ्नो जन्मदिन फिल्म ‘राज्जारानी’ युनिटसँग मनाएकी छन् । आइतबार बिहान राजधानीको नयाँवानेश्वरमा आयोजित विशेष कार्यक्रममा आगामी पौष २१ बाट रिलिज हुन लागेको फिल्म युनिटसँग उनले जन्मदिन मनाएकी हुन् । फिल्ममा ‘रानी’को भूमिकामा देखिएकी केकीले जन्मदिनको केक काटेपछि केकको एक टुक्रा उनले फिल्मका ‘राज्जा’ नाजिर हुसेनलाई खुवाईन् । नाजिरले पनि फिल्मकी रानीलाई केक खुवाउन पछि परेनन् ।

मैथिली भाषामा समेत रिलिज गराउन लागि परेको भोर कम्पनी र ‘राज्जा रानी’को टिमले केकीको जन्मदिन मनाउने वातावरण बनाएको थियो । ‘जन्मदिनमा एक पटक बच्चा भएर केक काट्न, उफ्रिन, वेलुन फुटाउन पाइन्छ । यसैले पनि जन्मदिन मेरा लागि विशेष हुन्छ,’उनले भनिन्,‘म चाहन्छु मेरो हरेक जन्मदिन आफ्नो जन्म घर र फिल्मकर्मीसँग मिलेर मनाउन पाउँ भनेर भगवानसँग कामना गर्छु ।’

कार्यक्रममा भोर नामक संस्थाले दाइजो प्रथाको विषयमा फिल्म बनेकाले संस्थाले दाइजो प्रथा र बालविवाहविरुद्ध चेतना जगाउन फिल्मलाई मैथिली भाषामा रुपान्तरण गरेर प्रदर्शन गरिने जानकारी दिइयो ।

निर्माता रमेश एम के पौडेलले फिल्मले दर्शकलाई सन्देश दिदै हसाँउने दाबी गर्दै नयाँ निर्माता आउँदा ‘मुर्गा’ आयो भन्ने चलनलाई रोकेमा मात्र फिल्म क्षेत्र माथि उठ्ने बताए । निर्देशक यम थापाले ‘राज्जा रानी’ले नेपालगञ्जको एउटा गाउँको वास्तविक कथालाई नाटकिय ढंगले प्रस्तुत गरेको बताए । भोर नामक संस्थाले सोमबारबाट ‘राज्जा रानी’को प्रमोशन कलाकार र फिल्मको टिमसँगै काठमाण्डौ बाहिर सुरु गर्दैछ ।

Leave a Comment