लालपुर्जामा देखिँदै साहित्यकार नगरकोटी

काठमाडौं । कुमार नगरकोटी नेपाली साहित्यमा पछिल्लो समयमा चर्चामा आएको नाम हो । खास गरी उपन्यास लेखनमा उनको चर्चा चुलिँदोछ । यिनै नगरकोटी अब फिल्मी पर्दामा पनि देखिने भएका छन् । उनको पुस्तकमा आधारित रहेर केही समय अघि राजधानीको अनामनगरस्थित मण्डला थिएटरमा एक नाटक मञ्चन गरिएको थियो । फिल्मका लागि कथा नलेखेका नगरकोटी फिल्म ‘लालपुर्जा’मार्फत अभिनयमा डेब्यु गर्दैछन् ।

फिक्सन डिजाइनरको रुपमा चर्चित लेखक नगरकोटी यसमा अतिथि लेखकको रुपमा प्रस्तुत छन् । उनीद्वारा लिखित पुस्तकबाट फिल्ममा फेन्टासी स्थानको नाम कुमागल्ली, मिस्टिका झरना, अक्षरगञ्ज, फोसिल गाउँ लिइएको छ । । यी थलोको ट्रान्जिटको रुपमा मितेरी गाउँ बुनिएको छ । जसलाई लमजुङमा सुट गरिएको हो ।

आगामी माघ ४ गते रिलिज फिल्ममा दर्शकले नगरकोटीको डेब्युसँगै ‘छड्के’ निर्देशक निगम श्रेष्ठको कमब्याकलाई पनि हेर्न पाउनेछन् । कमेडी शैलीमा बनेको फिल्ममा सौगात मल्ल मुख्य भूमिकामा छन् । उनीसँग फिल्मबाट डेब्यु गरेकी मिरुना मगरले जोडी बाँधेकी छन् ।

फिल्मका निर्माता एवं कलाकार विक्रमसिंह थारुले भौतिक पदार्थको महत्व सकिएपछि उत्पन्न हुने आध्यात्मिकता नै फिल्मको कथाबस्तु रहेको बताए । ‘फिल्म हार्डकोर मेनस्ट्रिमबाट हटेर कलाको खोजीमा उत्रिएको छ ।’ उनले भने । थारुले उमेश श्रेष्ठसँग मिलेर फिल्म निर्माण गरेका हुन् ।

निर्देशक निगमले फिल्मका लागि थारुसँग मिलेर कथा लेखेका हुन् । फिल्ममा सौगातसहित बिपिन कार्की, हरिहर शर्मा, कामेश्वर चौरासिया, मिरुना मगर, मेनुका प्रधान, कमलमणी नेपाल, मिश्रि थापा र अनिल पाण्डेको अभिनय छ ।

Leave a Comment