जस्मिन पाउन पञ्चेबाजामा सौगात–कर्माको यस्तो झगडा

काठमाडौं । आगामी फागुन ११ गतेबाट रिलिज हुन लागेको फिल्म ‘पञ्चेबाजा’को ट्रेलर सार्वजनिक भएको छ । एक गाउँमा बस्ने दुई साथीबीचको सद्भाव र उनीहरुको बदलाको भावलाई ट्रेलर समेटेको छ ।

सौगात मल्ल, कर्मा, जस्मिन श्रेष्ठलगायतका कलाकारले फिचरिङ गरेको ट्रेलरमा तीन पात्रको द्वन्द्व, प्रेम र खलचरित्रलाई देखाइएको छ । तीन पात्रको आपसी सम्बन्धमा को भिलेन बन्छ भन्ने थाहा पाउन दर्शकले फिल्म नै हेर्नुपर्ने हुन्छ ।

न्यू भेनस फिल्मस्को व्यानरमा निर्माण भएको फिल्ममा निर्देशक घनश्याम लामिछानेको निर्देशन छ । ‘धौली’, ‘अग्नीदहन’लगायतका फिल्म निर्देशन गरिसकेका लामिछानेले मानिसले सुन्दै आएको तर वास्ता नगरेको एउटा पृथक कथालाई फिल्ममा देखाइने बताए ।

राजेश शाही निर्माता रहेको फिल्ममा सौगात मल्ल, जस्मिन श्रेष्ठ, बुद्धि तामाङ, सिर्जना सुब्बा, प्रकाश घिमिरे, सबिन बास्तोला, प्रमिला तुलाचन, विमला गिरी, राजेश शाही, युवराज भण्डारी र तेज गिरीको अभिनय छ ।

फिल्ममा प्रदिप भारद्वाजको कथा, पटकथा र संवाद, कालीप्रसाद बास्कोटा र विकास चौधरीको संगीत, राजकुमार उप्रेतीको द्वन्द्व, दीर्घ खड्काको सम्पादन र हरि घले लामाको छायांकन छ । फिल्ममा सारा गुरुङको सहलगानी छ ।