हिरो र भिलेन दुवै चरित्रमा हिट

मुम्बई(एजेन्सी) । बलिउड अभिनेता रणवीर सिंह पछिल्लो पटक बिहीबारबाट रिलिज हुने फिल्म ‘पद्मावत’मा भिलेन चरित्रमा देखिएका छन् । हिरो बन्दा पाइरहेको वाहवाही भिलेन बन्दा पनि उस्तै पाइरहेका छन् । रणवीर एक उदाहरण मात्र हुन्, बलिउडमा अन्य यस्ता हिरो छन् जो भिलेन बनेर पनि चर्चा पाउन सफल बनिसकेका छन् । फिल्म ‘पद्मावत’मा अलाउद्दीन खिलजीको भूमिकाका लागि रणवीर सिंहले जुन किसिमको समिक्षा पाइरहेका छन् । उनले पाएको सकारात्मक समिक्षाले उनी कुनै क्षणमा पनि हिरोबाट भिलेन र भिलेनबाट हिरो बन्न सक्छन् भन्ने उदाहरण बनेका छन् ।

भिलेन बन्दा उनको हिरोवाला इमेजको केही खतरा पनि भएको छैन । रणवीरले ‘गुण्डे’ र ‘किल दिल’ जस्ता फिल्ममा प्रतिनायक वा एन्टीहिरोको भूमिका निभाएका थिए । तर ‘पद्मावत’को खिलजी भूमिका पूर्ण रुपमा खलनायक नै हो । रणवीरले फिल्ममा जुन सुगमताका साथ भूमिका निभाएका छन्, यो उनको अभिनय क्षमताको विस्तार मिसाइल हो । ‘पद्मावत’को खिलजी अभिनय र भावाभिव्यक्तिको मामलामा नायक महारावल रतन सिंहमाथि नै बोझ परेको छ ।

फिल्म ‘बाहुबली २–द कन्क्लूजन’मा राणा दग्गूबटीले भल्लाल देवकोा भूमिकामा बाहुबली बनेका प्रभासलाई ठूलो टक्कर दिए । बाहुबलीको अगाडि भल्लाल देव कही पनि कमजोर देखिएनन् । उता अक्षयकुमार यस्ता कलाकार हुन्, जो आफ्नो करियरमा नकारात्मक भूमिका पनि निभाइरहेका छन् । अक्षयले पहिलो पटक ‘अजनबी’मा भिलेनको भूमिका निर्वाह गरेका थिए । यो फिल्मका हिरो बबी देओल थिए । अक्षयको नकारात्मक भूमिका बबीको लागि निकै बोझिलो साबित भएको थियो ।

अब अक्षय ‘२.०’मा भिलेनको भूमिकामा कमव्याक गर्दैछन् । यो फिल्ममा उनी हिरो रजनीकान्तको प्रतिद्वन्द्वी छन् । नकारात्मक भूमिकामा अर्का हिरो अजय देवगन पनि कम छैनन् । उनको सम्झनालायक भिलेनको रुपम फिल्म ‘खाकी’मा दर्शकले हेरिसकेका छन् । यो फिल्ममा उनले शातिर आतंकवादीको भूमिकामा अभिनय गरेका थिए । फिल्ममा अक्षय कुमार र अमिताभ बच्चन प्रमुख भूमिकामा थिए ।

फिल्म ‘अग्निपथ’को रिमेकमा अर्का हिरो सञ्जय दत्तले कांचा चीना नामका भिलेनको भूमिका निर्वाह गरेका थिए । सञ्जयको यो लुक्स फिल्ममा निकै खतनराक थियो । उनले भिलेनको रुपमा फिल्म ‘खलनायक’मा पनि अभिनय गरेका थिए । तर कांचा चीना जस्तो भिलेन चाहिँ उनी पहिलोपटक बने । यो फिल्ममा ऋषि कपूरले रऊफ लालाको भिलेन रोलमा पनि अभिनय गरेका थिए । ऋषिलाई अधिकतम हल्का फुल्का रोमान्टिक अन्दाजमा देखेका दर्शकले रऊफ लाला रुपमा देख्दा दर्शक नै छक्क परेका थिए । यही समयमा उनले ‘डी–डे’मा अन्डरवल्र्ड डनको भूमिका पनि निभाएका थिए ।

हिरो सैफ अली खानको करियरमा उनको सम्झनालायक फिल्म ‘ओमकारा’ पनि पर्दछ । जसमा उनले लंगडा त्यागीको भूमिका निर्वाह गरेका थिए । बढी मात्रामा सहरी, पढेलेखेको र हेण्डसम भूमिकामा देखिने सैफले यो फिल्ममा पश्चिमी उत्तर प्रदेशको शातिर र ठेठ गंवई ग्याङ्स्गस्टरको भूमिकामा देखिँदा रोचक देखिएको थियो ।  आमिर खानको अभिनयबाट जोकोही पनि फ्यान छन् । उनले दीपा मेहताको फिल्म ‘अर्थ’मा भिलेनको भूमिका निभाएका थिए । कथासँगै फिल्मको भिलेनको रुपमा देखिँदा उनको परिवर्तित रुपबाट सबै छक्क परेका थिए ।

भिलेनको मामलामा हिन्दी फिल्मका बादशाह अमिताभ बच्चन पनि कम छैनन् । शुरुवाती दिनमा उनले फिल्म ‘परवाना’मा भिलेन चरित्र निभाएका थिए । यो फिल्ममा नवीन निश्चल हिरो थिए । अमिताभले ‘कांटे’, ‘आँखे’ र ‘आग’ जस्ता फिल्ममा नकारात्मक चरित्र निभाए । किङ खान शाहरुख पनि भिलेन चरित्रमा सुहाउँदिला कलाकार हुन् । उनले ‘बाजीगर’, ‘डर’ र ‘अन्जाम’ जस्ता फिल्ममा नकारात्मक भूमिका निर्वाह गरेका थिए ।