रानीमहलमा कसको प्रेमिका बन्लिन् वर्षा ?

काठमाडौं । त्रिकोणात्मक प्रेमकथामा नयाँ फिल्म ‘रानीमहल’ बन्ने भएको छ । राजधानीमा बिहिबार एक कार्यक्रम गर्दै फिल्म निर्माण कम्पनी स्वस्तिक फिल्मस्ले कलाकार र प्राविधिक सञ्चारकर्मीमाझ सार्वजनिक गरेको छ । कार्यक्रममा फिल्मको मुहुर्त पनि गरिएको थियो ।

वृत्तचित्रपछि फिल्म निर्देशनमा आएका निर्देशक हिमाल न्यौपानेले फिल्ममा प्रेमसँगै अतिरिक्त मित्रता, पुत्र मोहलगायतका विषयलाई रोचक शैलीमा प्रस्तुत गरिने दाबी गरे । ‘रानीमहल जस्तो नाम छ त्यसरी नै आफुले कथावस्तुलाई पर्दामा उतारेर दर्शकको भावना अनुसारको फिल्म बनाउने सोच छ,’उनले भने ।

फिल्मका लेखक दीपक पौडेलले नेपाली समाजमा प्रेमको प्रतिकको रुपमा चिनिँदै आएको ‘रानीमहल’को मुटुलाई फिल्मले बोल्ने भन्दै फिल्मले प्रेमको परिभाषा सिकाउने बताए । उनले फिल्म दरबारसँग सम्बन्धित जस्तो लागे पनि यथार्थमा फिल्म दरबार वा यसको सेरोफेरोको कथाबाट टाढा रहेको जनाए । माघको तेस्रो हप्तादेखि फ्लोरमा जाने फिल्मको बुटबल, भैरहवा, चितवन, स्याङ्जा, पोखरा, पाल्पा र काठमाडौंमा छायांकन हुनेछ ।

फिल्ममा वर्षा शिवाकोटी, आशिष अधिकारी, नीर शाह, रश्मी भट्ट, बिएस राना, प्रशान्त ताम्राकार, साहिल श्रेष्ठ, मानस्वी खरेल, उमा बेबी, विष्णु सापकोटा,नगेन्द्र रिजाल, युनिता खत्री, बासु खनाल, शिलु पोखरेल, अनामिका लामिछाने, भिस्म राज जोशी, सौगात धिताल, बिनोद कुमार सापकोटा, सुरज चौलागाईं, पुष्पा निरौला, भोला शाह,गणेश पौडेलको अभिनय हुनेछ । फिल्ममा निर्माताको रुपमा बिमल भुसाल छन् भने छायाँकन निरज कंडेलले गर्नेछन् । अर्जुन पोखरेल र हर्कुलश बस्नेतको संगीत रहने फिल्ममा द्वन्द्व हिमाल केसीको रहनेछ । रामजी लामिछाने र कविराज गहतराजको कोरियोग्राफी रहनेछ ।

तस्बिरहरुः विनोद पोखरेल