विवादै विवादमा भन्सालीका फिल्म

मुम्बई(एजेन्सी) । बलिउड फिल्म निर्देशक सञ्जय लीला भन्सालीको फिल्म ‘पद्मावत’लाई लिएर भारतका विभिन्न स्थानमा हिंस्रक रुपमा विरोध भइरहेको छ । उत्तर भारतका कैयौं सहरमा स्थानीय सरकारले धारा १४४ लगाईसकेको छ । तर भन्सालीको फिल्ममा विरोध भएको यो पहिलोपटक भने होइन । उनको यसअघि बनेका फिल्ममा पनि श्रृंखलाबद्ध रुपमा विरोधका आवाज उठिरहेका थिए । उनका यसअघिका रिलिज भएका फिल्मलाई हेर्ने हो भने सबै फिल्मले विवादको सामना गरेका छन् ।

पद्मावत

भन्सालीको फिल्म ‘पद्मावत’ को ट्रेलर सार्वजनिक हुनासाथ यो फिल्मको कथाबस्तुलाई लिएर विरोधका आवाज उठ्न शुरु भएको थियो । फिल्मको रिलिज हुनु भन्दा अघिल्लो दिन अहमदाबाद र कानपुरमा भएका फिल्म हल बाहिर हिंस्रक विरोधको घटना पनि भए ।  भन्सालीमाथि उनले जानी जानी एक समुदायको भावना भड्किने खालको फिल्म बनाएको आरोप आरोपीले लगाइरहेका छन् । फिल्ममाथि विवाद बढ्दै गएपछि फिल्मको नाम ‘पद्मावती’ बाट ‘पद्मावत’ बनाइएको छ । योबाहेक फिल्मका केही दृश्य पनि काटिएको छ । तर पनि विवादको विरोध थामिएको छैन ।

बाजीराव मस्तानी

१७ औं शताब्दीका शासक पेशवा बाजीराव द्वितीयमाथि बनेको यो फिल्मलाई लिएर भन्साली विवादको घेरामा तानिएका थिए । यो फिल्ममा भन्सालीले फिल्मका दुई पात्र काशीबाई र मस्तानीको बीचको एक गीत ‘पिंगा’ बनाएका थिए ।  फिल्मका विरोधीले पेशवाईमा शाही महिलाहरु यस्तो किसिमको नृत्य नगर्ने भन्दै विरोध जनाएका थिए । इन्दौर राजघरानाले पनि फिल्म प्रति आपत्ति जनाएको थियो । फिल्ममा काशीबाई र मस्तानी अर्थात प्रियंका चोपडा र दीपिका पादुकोण कैयौं पटक एउटै फ्रेममा आएका छन् ।  यो विषयमा पेशवा बाजीरावका वंशजले बाजीराव र मस्तानीको भेट एकपटक मात्र भएको बताउँदै आएका छन् । विवादका बीच पनि फिल्म रिलिज हुँदा फिल्मले बक्स अफिसमा राम्रो कमाई गरेको थियो ।

गोलियोंकी रासलीला

फिल्म ‘बाजीराव मस्तानी’ भन्दा अघि दीपिका पादुकोण र रणवीर सिंहलाई प्रमुख भूमिकामा अभिनय गराएर सञ्जयले फिल्म ‘रामलीला’ बनाएका थिए । फिल्मको नाममा नै विवाद देखिएपछि भन्सालीले फिल्मको नाम ‘गोलियों की रासलीला’ राखेका थिए । फिल्मको मुख्य कलाकारको थर ‘जडेजा’मा राजपूत समुदायले विरोध गरेपछि ‘सनेडा’ र ‘राजाडी’ थर प्रयोग गरिएको थियो । फिल्ममा प्रयोग गरिएको रवीन्द्रनाथ टैगोरको कविता ‘मोर बनी थनघट करे’को गुजराती अनुवादलाई लिएर पनि विवाद पैदा भएको थियो । यो कविताको अनुवाद गुजराती कवि जवरहन्द मघानीले गरे पनि फिल्ममा उनलाई क्रेडिट दिइएको थिएन ।

गुजरिशमाथि सलमानसँग जोडिएको विवाद

अभिनेता ऋतिक रोशन र ऐश्वर्या रायको मूख्य भूमिकामा अभिनय रहेको यो फिल्मलाई लिएर अभिनेता सलमान खानले आपत्तिजनक बयान दिएका थिए । सलमानको बयानसँगै फिल्मका निर्मातामाथि कथा चोरीको आरोप पनि लागेको थियो ।

देवदासको ‘डोला रे डोला’ माथि विवाद

भन्सालीको फिल्मी करियरमा सबैभन्दा विशेष फिल्म मानिएको ‘देवदास’को एक गीत ‘डोला रे डोला रे’लाई लिएर पनि विवाद भएको थियो । किनकी ‘देवदास’माथिको वास्तविक उपन्यासमा पारो र चन्द्रमुखीको भेट लेखिएको छैन । तर फिल्मको यो गीतमा माधुरी दीक्षित र ऐश्वर्या रायले एकसाथ नृत्य गरेका छन् ।