पत्रकारको जिन्दगी सिकाउँदै सत्यराज

काठमाडौं । राजनीतिक आन्दोलनको रिर्पोटिङ गर्न तराई पुगेका एक फोटोग्राफरको भौतिक र मनोवैज्ञानिक द्वन्द्वलाई प्रस्तुत गरिएको फिल्म ‘ ‘साढे ७’ को दोस्रो ट्रेलर सार्वजनिक भएको छ । फिल्मको नाम झैं ट्रेलरलाई पनि शुक्रबार बेलुका साढे सात बजेको समय पारेर युट्युबमार्फत सार्वजनिक गरिएको हो ।

आफ्नै पिता भक्तराज आचार्यको जीवनकथामा निर्माण गरिएको फिल्म ‘आचार्य’मा शीर्ष भूमिकामा अभिनय गरेर वाहवाही पाएका गायक सत्यराज आचार्य फिल्म ‘साढे ७’मा फोटोग्राफरको शीर्ष भूमिकामा छन् । सत्यराजले फिल्म ‘कर्कश’मा पनि अभिनय गरेका छन् । सार्वजनिक ट्रेलरमा तराईको आन्दोलनको फोटो खिच्न गएका सत्यराजले फिल्मका अर्का कलाकार सुनिल थापालाई पत्रकारको जिन्दगीको बारे बताउँदै गरेको दृश्य पनि राखिएको छ ।

सत्यसहित मेनुका प्रधान, सुनिल थापा, कामेश्वर चौरासिया, सुप्रिया कट्वाल, शिशिर बाङ्देल कलाकार अभिनित फिल्मका लेखक तथा निर्देशक साम्तेन भुटिया हुन् । फिल्ममा पत्रकार युवराज घिमिरेकोसमेत केमियो भूमिका रहेको छ । फिल्ममा सुनिल थापा, सत्यराज, स्वरुपराज आचार्य, नरेशदेव पन्त, डिजे सन्तोष र साम्तेन भुटिया निर्माता हुन् । फिल्म फागुन ११ गते रिलिज हुँदैछ ।