वर्स्ट फिल्मको मनोनयनमा प्रियंकाको बेवाच

मुम्बई(एजेन्सी) । बलिउड अभिनेता प्रियंका चोपडा अब ग्लोबल सेलिब्रेटीका रुपमा चिनिन थालिसकेकी छन् । उनले अमेरिकी टेलिभिजनमा मात्र होइन, हलिउड करियरको शुरुवात पनि गरिसकेकी छन् । तर उनै प्रियंकाका लागि अहिले एउटा खबर राम्रो आएको छैन ।

भारतीय सञ्चारमाध्यमका अनुसार प्रियंकाले पछिल्लो पटक हलिउड फिल्म ‘बेवाच’मा अभिनय गरेकी थिइन् । यो फिल्मबाट उनले चर्चा पाए पनि फिल्म बक्स अफिसमा फ्लप साबित भयो । यो फिल्म ३८ औं ‘एनुअल गोल्डन रसबेरी अवार्ड्स’मा ‘वर्स्ट फिल्म अफ द इयर’को विधामा मनोनित भएको छ । प्रियंकाले यो फिल्ममा भिलेन भिक्टोरियाको भूमिका निभाएकी थिइन् । प्रियंकाको यो फिल्मले भारतमा पनि राम्रो व्यापार गर्न सकेन । यो फिल्मले जम्मा १० करोड रुपैंयाँ मात्र बक्स अफिसमा कमाई गरेको थियो ।

यो फिल्म ९ सय ४८ स्क्रिनमा रिलिज भएको थियो । यो फिल्म असफल भए पनि उनलाई हलिउडमा अफरको ताँती नै लागेको छ । उनी ‘अ किड लाइक जैक’को चाँडै सुटिङ शुरु गर्दैछिन् । यो पछि उनी ‘इज नट इट रोमान्टिक ?’ मा पनि व्यस्त हुनेछिन् । फिल्म ‘बेवाच’को कथा फ्लोरिडाको समुन्द्र किनारामा रहेको बेवाच टिमको हो । जसको मुखिया मिच ट्वेन जोन्सन हुन्छन् । सिटी काउन्सिलले मिचको टिममा मैट ब्राडीका रुपमा ज्याक एफ्रानलाई नियुक्त गरे पछि आएको समस्यालाई प्रस्तुत गरिएको छ ।