परदेशी पछि पटुकीमा रजनीको आश

काठमाडौं । नायिका रजनी केसी छविराज प्रोडक्सनको व्यानरमा निर्माण भएको फिल्म ‘लोफर’बाट फिल्मी अभिनयमा आए पनि उनी फिल्म ‘परदेशी’बाट दर्शकमाझ चिनिइन् । प्रशान्त तामाङसँगको ‘परदेशी’मा उनको जोडीले फिल्मले उत्कृष्ट व्यापार पनि गर्यो । फिल्म ‘परदेशी’ यता उनले अभिनय गरेका कुनै पनि फिल्मले व्यापारिक सफलता पाएको छैन । सबै फिल्म असफल बनिरहेको बेला आगामी माघ १९ गतेबाट उनी अभिनित अर्को फिल्म ‘पटुकी’ दर्शकमाझ आउँदैछन् । यो फिल्म ‘परदेशी’ जस्तै चल्छ भन्नेमा उनी ढुक्क छिन् ।

‘पटुकी मेरा लागि ‘परदेशी’ पछिको आशलागेको फिल्म हो । यो फिल्ममा मैले आफ्नो भूमिका पनि खोजे जस्तै पाएकी छु,’ उनले भनिन्,‘एउटा फिल्म चले पनि अन्य फिल्म नचलेको आरोप ममाथि लाग्ने गरेको छ । बक्स अफिसमा हिट हुनु वा नहुनुले मेरो करियरलाई असर पार्दैन् । मैले आजसम्म जति पनि फिल्म गरेँ त्यसबाट म निकै खुसी छु । फिल्म हिट वा फ्लप मेरो लागि त्यो महत्वपूर्ण रहँदैन ।’

फिल्मका कलाकार तथा निर्माता म्याक्तेन कालुले फिल्मले नारीप्रधान कथालाई समेटेकोले दर्शकले रुचाउने विश्वास व्यक्त गरे । ‘दर्शकले हाँसोसँगै सामाजिक सन्देश पनि पाउनुहुनेछ,’ उनले शनिवार पत्रकारमाझ भने,‘फिल्मले हामीले देख्दै आएका समाजका विविध विषयलाई नारीवादी दृष्टिकोणबाट हेरेको छ ।’ यसै फिल्मबाट अभिनयमा डेब्यु गरेका नवनायक जेम्स विसीले आफूहरुले सोचे अनुसार फिल्म बनेकोले दर्शकले मनपराउने दाबी गरे । उनले एक्सन, रोमान्स, विछोड, रोदनका कथा रुचाउने दर्शकका लागि फिल्म ‘पटुकी’ राम्रो रहेको बताए ।

राम नेपाल निर्देशित फिल्ममा रजनी केसी, जेम्स विसी, म्याक्टेन कालु, दिपक कँडेल, रोजी श्रेष्ठ, हरि गुरुङ लगायतको मुख्य अभिनय छ । म्याक्टेन कालुको निर्माणमा बनेको यस फिल्मका सह–निर्मातामा बिर्जन मिजार र कार्यकारी निर्मातामा शिता मिजार रहेका छन् । फिल्ममा राजनराज सिवाकोटीको संगीत, माक्तेन कालुको शब्द, अभिषेक पौडेलको सम्पादन, सानु कुमार महर्जनको द्वन्द, शिव वि.क.को करियोग्राफी र लक्ष्मण घिमिरेको छायांकन छ ।