पद्मावतलाई दुई दिनमा ५० करोड

मुम्बई(एजेन्सी) । करणी सेनासहित अन्य संगठनको विरोधका बाबजुद पनि प्रदर्शन भइरहेको फिल्म ‘पद्मावत’को व्यापारमा खासै केही असर नपरेको देखिएको छ । सञ्जय लीला भन्सालीको फिल्मले विरोधका बाबजुद पनि बक्स अफिसमा राम्रो व्यापार गरिरहेको छ । फिल्मले दुई दिनमा ५० करोडको कारोबार गरेको छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार फिल्मले पहिलो दिन १६ देखि १७ करोड कारोबार गर्दा दोस्रो दिन अर्थात २६ जनवरीमा फिल्मले देशभर ३२ करोडको आसपासमा कारोबार गरेको छ । फिल्मले रिलिजको अघिल्लो दिन गरेको पेड प्रीव्यूजमा झण्डै पाँच करोडको कमाई गरेको थियो । बिहीबारको तुलनामा शुक्रबारको दिन फिल्म रिलिजको अवस्था शान्तिपूर्ण थियो । भारतीय गणतन्त्र दिवसको दिन सार्वजनिक विदा भएकाले पनि अघिल्लो दिनको भन्दा शुक्रबार दर्शकको संख्या बाक्लो थियो ।

२६ जनवरीको दिन फिल्मलाई बेंगलुरुमा फुल डे मिलेको थियो । जसकारण पहिलो दिनको तुलनामा ६५ प्रतिशत बढी व्यापार भएको थियो । फिल्म रिलिजको दोस्रो दिन केही ठाउँमा भएको विरोध प्रदर्शनले २० देखि २२ प्रतिशत व्यापार घाटा लागेको थियो । ‘पद्मावत’को कमाईका मामलामा मुम्बई सर्किटको व्यापार राम्रो देखियो । गुजरातलाई छाडेर हेर्दा मुम्बईमा फिल्मले एक्लै ११ करोडको कारोबार गरेको थियो । यो हिसाबले हेर्दा मुम्बईमा ‘पद्मावत’को कमाई ‘बाहुबली २’सँग बराबर छ । फिल्मले यो साता सय करोडको व्यापार गर्ने अनुमान गरिएको छ ।