कन्सर्टको ५० हजार रुपैंयाँ जलजलालाई दिने अञ्जुको घोषणा

काठमाडौं । गायिका अञ्जु पन्तले दुवै मृगौलापीडित गायिका जलजला परियारलाई ५० हजार रुपैंयाँ सहयोग गर्ने घोषणा गरेकी छन् । दुवै मृगौलाले काम गर्न छाडेपछि उपचारत गायिका जलजलालाई आउँदो १४ फेब्रुअरीमा हुने आफ्नो एकल साँझबाट पाएको पारिश्रमिकमध्येबाट ५० हजार उपचार खर्च स्वरुप सहयोग गर्ने अञ्जुले बताइन् ।

‘भ्यालेनटाइन–डेका दिन हुने मेरो एकल साँझबाट पाएको परिश्रमिकमध्येबाट जलजालाई ५० हजार रुपैयाँ जलजलालाई उपचार सहयोग गर्नेछु ।’ उनले भनिन् । अञ्जुको कार्यक्रम आगामी फागुन २ मा बागबजारस्थित साया हेल्लो क्याफे गजलबारमा एकल साँझमा हुँदैछ । केही वर्षयता गायनसँगै पछिल्लो सामाजिक सेवामा समेत सक्रिय अञ्जुको यो दोस्रो एकल साँझ हो । अञ्जुले आफ्नो पहिलो साँझ पनि सामाजिक सेवाकै लागि गरेकी थिइन् ।

‘नेपाली तारा’ सिजन–३ की प्रतियोगी जलजलालाई सहयोग गर्न सामाजिक अभियान नै चलाइएको छ । सामाजिक सञ्जाल फेसबुकमार्फत चलाइएको ‘गायिका जलजला परियार बचाउ अभियान’मार्फत विभिन्न व्यक्ति तथा संस्थाले सहयोग गर्ने क्रम बढेको छ । अर्घाखाचीकी जलजलाको हाल शिक्षण अस्पताल महराजगञ्जमा उपचार भइरहेको छ ।