मलेसियामा छानिँदै मिस विश्वकर्मा इन्टरनेशनल

काठमाडौं । विश्वकर्मा समुदायका युवतीहरुको प्रतिभालाई अन्तर्राष्ट्रियस्तरसम्म पुर्याउन आयोजना गरिएको ‘मिस विश्वकर्मा इन्टरनेशल २०७४’ को फाइनल मलेसियामा हुने भएको छ । यसअघि कतारमा फिनाले गर्न तयारी भइरहेको अवस्थामा आयोजक मोनाली इन्टरनेशनलले अन्तिम समयमा आएर मलेसियालाई फिनालेको नयाँ गन्तव्य रोजेको हो ।

आयोजक संस्थाका अध्यक्ष दीपक बराइली जातीय सौन्दर्य प्रतियोगिता कतारमा गर्न नमिल्ने भन्ने कुरा आएपछि कार्यक्रम मलेसियामा गर्ने तय गरिएको बताए । ‘प्रतियोगीताको उद्देश्य विश्वकर्मा समुदायका युवतीहरुको प्रतिभा अन्तर्राष्ट्रियस्तरसम्म पु¥याउने भएकोले पनि देश बाहिर गर्नुपरेको हो,’उनले भने,‘कार्यक्रमको उद्देश्यका अनुसार नै हामीले बाहिर फाइनल कार्यक्रम गर्न लागेका हौं । नत्र नेपालमै गर्ने योजना थियो ।’ उनले मलेसियाको जोहोरबारु कोटजे मार्ट हलमा फेब्रुअरी १८ मा फिनाले हुने बताए ।

फाइनल कार्यक्रमका लागि उत्कृष्ट ८ प्रतियोगी, कलाकार, आयोजक टिमसहित २५ जनाको टोली मलेसिया प्रस्थान गर्दैछ । कार्यक्रममा अभिनेता राजेश हमाल, मिस नेपाल सुगरिका केसी, गायक हिमाल सागर, नायिका नम्रता सापकोटा, गायक डेबिट शंकर, सुजना ढकाल, राकेश राईलगायतको विशेष उपस्थिति हुनेछ । साथै मलेसियामै रहेका नेपाली कलाकारले पनि आफ्नो प्रस्तुति दिनेछन् ।

प्रतियोगिताको शीर्ष विजेतालाई टिभिएसको स्कुटर, एयर होस्टेजको प्रशिक्षण र सौर्य एयरलाइन्समा जागिरको ग्यारेन्टी रहेको आयोजनक संस्थाका कोषाध्यक्ष रोहन लोहनीले जानकारी दिए । आयोजकले मोनाली इन्टरटेन्मेन्टले निर्माण गर्ने फिल्ममा अवसर दिइने र शिक्षामा ५० प्रतिशत छात्रवृत्तिको व्यवस्था गरिने उनले बताए । सेकेन्ड रनरलाई ५० हजार र थर्ड रनरलाई ४० हजार नगदसहित अन्य अवसर रहेको आयोजकले जनाएको छ । प्रतियोगितालाई बिजु श्रेष्ठ, बराह ज्वलर्स र आईएमईले मुख्य प्रायोजन गरेको छ ।