फिल्मकर्मीलाई कल्याणकारी कोषको सहयोग

काठमाडौं । चलचित्र विकास बोर्ड अन्र्तगत रहेको चलचित्रकर्मी कल्याणकारी कोषले विभिन्न फिल्मकर्मीहरुलाई सहयोग गरेको छ । लामो समयदेखि स्वास्थ्यमा समस्या देखिए पछि उपचार गराईरहेका फिल्मकर्मी तथा साहित्यकार हरिप्रसाद रिमाललाई कल्याणकारी बोषले चार महिनाको मासिक भत्ता प्रदान गरेको छ ।

बोर्डमा अध्यक्ष रित्त भएपछि विगत चार महिना देखि चलचित्रकमीहरुले बोर्डबाट प्राप्त गर्दै आएको सहयोग रकम रोकिएको थियो । बोर्डमा निकिता पौडेलको नियुक्तीसंगै कल्याणकारी कोष पुनः आफ्नो काममा जुटेको छ । बोर्ड अध्यक्ष पौडेलसहित कोष सञ्चालक समितिका संयोजक बसुन्धरा भुषालसहितको टोली रिमालको घर पुगेर मासिक भत्ता हस्तान्तरण गरेको हो ।

अर्का फिल्मकर्मी जयनेन्द्र चन्द्र ठाकुरको घरमै पुगेर चार महिनाको कल्याणकारी कोषको रकम हस्तान्तरण गरिएको छ । त्यस्तै मेकअप आष्र्टिष्ट इन्द्र लामालाई नगद १ लाख सहयोग बोर्डले गरेको छ । किड्नीले काम नगर्ने भएपछि हाल मनमोहन अस्पताल स्वयम्भुमा लामाको उपचार भइरहेको छ ।

नेपाल चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामाको समन्वयमा बोर्ड अध्यक्ष पौडेल सहितको टिमले लामाको उपचारका लागि १ लाख सहयोग प्रदान गरिएको हो । त्यस्तै लेखक तथा निर्देशक मौनता श्रेष्ठलाई पनि बोर्डले १ लाख सहयोग गरेको छ ।