चार गीतमा यस्तो देखियो लम्फू

काठमाडौ । आगामी नयाँवर्षको वैशाख २८ मा रिलिज घोषणा गरिएको फिल्म ‘लम्फु’का अडियो गीतसँगै गीतका स्टिल तस्वीरहरु पनि सार्वजनिक भएका छन् । चारवटै गीतमा संगीतकार अर्जुन पोखरेलको संगीत र प्रमोद खरेल, शिव परियार, दुर्गा खरेल, सुरेश लामा र अप्सरा घिमिरेको स्वर छ ।

फिल्मको ‘सँगै जिउने सँगै मर्ने’ गीतमा अप्सरा घिमिरे र सुरेश लामाको स्वर तथा दिग्गज धौलारीको शब्द, ‘तिम्लाई भुलेर’ गीतमा प्रमोद खरेलको स्वर तथा युवराज सापकोटाका शब्द, ‘सुको छैन यार’ गीतमा शिव परियारको स्वर तथा प्रमोद ढुंगानाका शब्द, ‘दोधार दोधारमा’ गीतमा दुर्गा खरेलको स्वर तथा नरेश भट्टराईको शब्द छ ।

गोपालचन्द्र लामिछाने निर्देशित फिल्ममा नवनायक कबिर खड्कासँगै सलोन बस्नेत, मरिश्का पोखरेल, चाँदनी शर्मा, सञ्जित भण्डारी, कुशाग्र भट्टराई, कुसुम श्रेष्ठ ‘तरकारीवाली’ लगायतको अभिनय रहेको छ ।

निर्देशक लामिछानेले फिल्मले समय र परिस्थितिले मानिसलाई नायक र खलनायक दुवै बनाउँछ भन्ने कथा देखाउने बताए । फिल्मलाई पपुलर मल्टिमिडियाको लागि शक्तिबल्दब घोरासैनीले बनाएका हुन् । फिल्ममा भूपतिको लेखन, दिपक बज्राचार्यको छायांकन, हरि सिलवालको सम्पादन छ ।