सातौं पटक सय करोडमा दीपिका

मुम्बई(एजेन्सी) । बलिउड अभिनेत्री दीपिकाले आफ्नो फिल्मी करियरमा सातौं पटक सय करोड क्लबमा गर्विलो उपस्थिति गराएकी छन् । सञ्जय लीला भन्सालीसँग तेस्रो फिल्म ‘पद्मावत’ रह्यो र यसअघि भन्सालीका दुई फिल्म ‘गोलीओकि रासलिला रामलिला’ र ‘बाजीराव मस्तानी’ले पनि सय करोडमा नाम दर्ता गरइसकेको छ ।

दीपिकालाई सय करोड क्लबमा पहिलो उपस्थिति गराउने सन् २०१३ मा फिल्म ‘रेस २’ले ठूलो भूमिका खेल्यो । २५ जनवरीमा रिलिज भएको यो फिल्मले सय करोड ४५ लाख रुपैंयाँको लाइफटाइम कलेक्सन गर्यो । यसको चार महिना पछि दीपिका अर्को फिल्म ‘ये जवानी है दिवानी’ मार्फत मे महिनामा अर्को सय करोड क्लबमा दर्ता भइन् । रणबीर कपूर स्टारर यो फिल्मले १ सय ८८ करोड ६७ लाख रुपैंयाँको कलेक्स्न मिलेको थियो ।

यही वर्ष उनी अर्को फिल्ममार्फत सय करोड क्लबमा फेरि दर्ता भइन् । उनी सन् २०१३ को अन्त्य तिर अर्थात नोभेम्बर महिनामा सञ्जय लिला भन्सालीकै फिल्म ‘गोलियोकी रासलीला–रामलीला’मार्फत सय करोड क्लबमा दर्ता भइन् । यो फिलमले १ सय १६ करोड ३३ लाख रुपैंयाँको बक्स अफिस कलेक्सन गरेको थियो ।

शाहरुख खानसँग फिल्म ‘चेन्नई एक्सप्रेस’मा देखिएकी दीपिकाले यो फिल्मबाट पनि सय करोडमा अर्को पाइला चालिन् । फिल्मले २ सय २७ करोड १३ लाख रुपैंयाँ कमाई गरेको थियो । त्यस्तै २०१४ को अक्टोबरमा शाहरुखलगायत अन्य मल्टी स्टारकास्टसँग फिल्म ‘ह्याप्पी न्यू ईयर’मा देखिएकी दीपिकाले यो फिल्मबाट १ सय ३ करोडको कलेक्सन गरेको थियो ।

उनी छैठौं पटक सञ्जयकै फिल्म ‘बाजीराव मस्तानी’मार्फत नयाँ सय करोड क्लबमा आइन् । २०१५ को डिसेम्बर १८ मा रिलिज फिल्मले १ सय ८४ करोड २० लाख रुपैंयाँको कमाई गरेको थियो । उनको हाल रिलिज भइरहेको फिल्म ‘पद्मावत’ले चार दिनमा १ सय १४ करोड कमाई गरिसकेको छ । यसअघि करिना कपुर ६ पटक, कटरिना कैफ ५ पटक करोड क्लबमा आफ्नो उपस्थिति जनाइसकेका छन् ।