मलेसियामा पद्मावत प्रदर्शनमा प्रतिबन्ध

मुम्बई(एजेन्सी) । बलिउड निर्देशक सञ्जय लिला भन्सालीको पछिल्लो प्रदर्शनरत फिल्म ‘पद्मावत’ समस्याको घेरामा पर्ने क्रम अझै पनि रोकिएको छैन । भारतका विभिन्न राज्य फिल्म प्रदर्शनमा प्रतिबन्ध लागिरहेका बेला यो फिल्मलाई मलेसियन सरकारले पनि प्रदर्शनमा प्रतिबन्ध लगाएको छ । यो फिल्म ऐतिहासिक महाकाव्य पद्मावतमा आधारित छ । फिल्मको कथाबस्तु प्रति स्थानीय सरकारले आपत्ति जनाएपछि यो फिल्म मलेशियामा पनि प्रतिबन्धको शिकारमा परेको हो ।

भारतीय सञ्चारमाध्यमका अनुसार मलेसियन सेन्सर बोर्डले थिएटर तथा मल्टिप्लेक्समा फिल्मको हंस्रक र क्रुर प्लटका कारण रिलिज गर्न अस्वीकार गरेको छ । केही निर्माताले फिल्म प्रदर्शनका लागि प्रासंगिक नभएको भन्दै टिप्पणी गरेका छन् । उनीहरुले यस्तो फिल्मले साम्प्रदायिक हिंसा वा अशान्ति पैदा गर्ने सम्भावना हुने उनीहरुको जिकिर छ ।

मलेशियामा रहेका केही मुसलमान समुदायले फिल्मको विषयबस्तुमाथि आपत्ति जनाएका छन् । उनीहरुले इस्लाम समुदायका लागि आपत्तिजनक भन्दै विरोध गर्ने सम्भावना बढेको छ । राष्ट्रिय फिल्म सेन्सरशिप बोर्ड (एलपीएफ)का अध्यक्ष मोहम्मद जम्बारी अब्दुल अजीजले फिल्मको कथाबस्तु मलेशियाली दर्शकका लागि चिन्ताको विषय हुने बताए । ‘मलेसियाका अधिकांश मानिसहरु मुस्लिम धर्मावलम्बी छन् । फिल्मको कथाले मलेसियाली दर्शकको भावनामा आहत पुग्नेछ । फिल्मका प्रमुख कलाकार रणवीर सिंहलाई हिंस्रक, लालची देखाइएकोले त्यसको असर दर्शकलाई पर्न सक्छ ।’ उनले भनेका छन् ।

अजीजले मलेसियामा फिल्मको वितरकले सेन्सर बोर्डको निर्णयको विरुद्ध अदालतमा अपिल दर्ता गराएका छन् । जसको सुनुवाई मंगलबार हुने सम्भावना छ । अदालतको फैसला नआउञ्जेल आफूले कुनै टिप्पणी नगर्ने उनले बताए । १५४० मा सूफी कवि मलिक मोहम्मद जायसीद्वारा रचित महाकाव्य पद्मावतको कथामा आधारित फिल्मले चित्तोडकी रानी पद्मनीको सुन्दरताको बयान गरेको छ । फिल्मले मुगल शासक अलाउद्दीन खिलजी रानी पद्मनीको सुन्दरतामा लठ्ठिएर उनलाई पाउने केसम्म हर्कत गर्छन् भन्ने कथा देखाइएको छ ।