कालिञ्चोकको हिउँमा फुरुङ्ग पवित्रा

काठमाडौं । दोलखाको कालिञ्चोक फिल्म र म्युजिक भिडियोको सुटिङका लागि पछिल्लो समय राम्रो गन्तव्यमा पर्दछ । खास गरी चिसो मौसममा हिउँ पर्दाको समय यो क्षेत्रमा सुटिङको लर्को नै लाग्दछ । निर्देशक बसन्त निरौला पनि यसपटकको कालिञ्चोकको हिउँलाई क्यामरामा कैद गर्न पछि परेनन् ।

गायिका पारु रञ्जितको ‘हिउँ जस्तै सफा मन, हिउँको जस्तै कोमल मन’ बोलको गीतमा निर्देशक बसन्तले भिडियोको एक्सन कट गरिरहँदा उनको निर्देशनमा पवित्रा आचार्य फुरुङ्ग भएर नाँचिरहेकी थिइन् । नवगायिका पारुको यो गीत एल्बम ‘मनको आवेग’मा समावेश हुनेछ । पछिल्लो पटक रिलिज फिल्म ‘मेला’मा सोलो कोरियोग्राफी गरेकी पवित्राले भिडियोमा पनि सोलो नै कोरियोग्राफी गरेकी छन् ।

गीतमा पवित्रासँगै कोरसले साथ दिएका छन् । देव पुनः को शब्द संगीत रहेको गीतको भिडियोमा दिव्य सुवेदीको छायांकन र वीरेन्द्र रञ्जितको लगानी छ । गीतको भिडियो चाँडै सार्वजनिक गरिने निर्देशक निरौलाले बताए ।