आचारसंहिता खारेज गर्न बोर्डलाई निर्माता संघको मागपत्र

काठमाडौं । चलचित्र विकास बोर्डले दुई वर्ष अघि फिल्म निर्माणलाई नियन्त्रण गर्न ल्याएको निर्माण तथा निर्देशनको मापदण्डको रुपमा रहेको आचारसंहिता तत्काल खारेज गर्न नेपाल चलचित्र निर्माता संघले माग गरेको छ । संघले चलचित्र विकास बोर्ड अध्यक्ष निकिता पौडेललाई ज्ञापन पत्र बुझाउँदै आचारसंहिता खारेजीको माग गरेको हो ।

बोर्डले ल्याएको मापदण्डमा फिल्म निर्देशन गर्न चाहनेले मान्यताप्राप्त शिक्षण संस्थाबाट फिल्म निर्देशन पढेको हुनुपर्ने वा नेपाली फिल्ममा विभिन्न भूमिकामा १० वर्ष काम गरेको हुनुपर्ने प्रावधान थियो । त्यसैगरी निर्माताले पनि नयाँ निर्माताले अनुभव लिएपछि मात्र फिल्म निर्माण गर्न पाइने व्यवस्था थियो । निर्माता संघका अध्यक्ष आकाश अधिकारीले मापदण्डले थुप्रै कानुनी तथा व्यवहारिक जटिलताहरू उब्जाएकाले यसको खारेजीको माग गरेको बताए ।

संघले बुधबार अध्यक्षलाई बुझाएको ज्ञापनपत्रमा बक्स अफिस, चलचित्र नीति, सेन्सर समस्या र राम्रा विषयवस्तुमा बन्न लागेका चलचित्रलाई अनुवृत्ति (सब्सिडिज) आदि विषय पनि समेटिएका छन् । संघले बोर्डलाई विदेशी नियोगहरूमा नेपाली फिल्म फेस्टिभल गरी नेपाली फिल्मको प्रवद्र्धन गर्न पनि आग्रह गरेको थियो । संघले बोर्डलाई प्रस्तावित मितिमा हरहालतमा पनि बक्स अफिस लागू गर्न आग्रह गरेको छ ।

बोर्डले केही दिनअघि मात्र ५ सदस्यीय बक्स अफिस कार्यान्वयन समिति निर्माण गरी आउदो २०७५ बैशाख १ गतेबाट उपत्यका भित्र परिक्षण गरी २०७५ श्रवण १ गतेबाट संचालनमा ल्याइने तथा मोफसलमा २०७५ माघ १ गते सम्ममा संचालनमा ल्याइने प्रतिबद्धता जनाएको थियो । त्यसैगरी, सेन्सरका सम्बन्धमा पनि निर्माता र सेन्सर बोर्डबीच थुप्रै असमझारी रहेकाले ती असमझदारी हटाउन बोर्डलाई मध्यस्ता गर्न आग्रह गरेको छ । जवाफमा अध्यक्ष निकिता पौडेलले संघका मागहरू जायज रहेकाले आवश्यक अध्ययनपछि कार्यान्वयनका लागि पहल गर्ने प्रतिबद्धता जनाएकी थिइन् ।