शेरबहादुर प्रिमियरमा सुनिल थापाको तारिफ

काठमाडौं । शुक्रबारबाट प्रदर्शनमा आउने फिल्म ‘शेरबहादुर’को बुधबार साँझ राजधानीमा गरिएको रेड कार्पेट प्रिमियरमा फिल्म हेर्ने अधिकांश फिल्मकर्मीले फिल्मको कथाबस्तु रुचाएका छन् । राजधानीको कुमारी हलमा सम्पन्न प्रिमियरमा फिल्म हेरिसकेपछि धेरै फिल्मकर्मी तथा मिडियाकर्मी ले सकारात्मक प्रतिक्रिया दिएका छन् । हाँस्य कलाकार केदार घिमिरे ‘माग्ने बुढा’ले सुनिल थापाको अभिनयको तारिफ गरे । सँगसँगै फिल्मले उठाएको विषयवस्तु तथा अन्य कलाकार रविन्द्र झा र मेनुका प्रधानको अभिनयको पनि खुलेर तारिफ गरे ।

अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाले फिल्मप्रति सकारात्मक प्रतिक्रिया व्यक्त गरिन् ।अभिनेत्री करिश्मा मानन्धरले जुन अपेक्षा लिएर हलमा छिरेको त्यो भन्दा माथी धेरै उत्कृष्ट पाएको प्रतिक्रिया फिल्मलाई पोखिन् त्यस्तै कलाकार किरण केसीले ‘थ्रिलर’ जनराको फिल्ममा सुनिल थापाले निभाएको भुमिकालाई ‘डेञ्जर’ भने । अभिनेता पल शाहले फिल्मले पछिल्लो पटक रिलिज आम फिल्मको तुलनामा फरक स्वाद पस्केको बताए ।

सुनिल थापा, मेनुका प्रधान, कर्मा शाक्य, रविन्द्र झा, जान्वी बोहरा लगायतका कलाकारले निभाएको भुमिकालाई धेरै दर्शकले तारिफ गरेका छन् । निर्देशक आर राजवंशी तथा क्रियटिभ निर्देशकको भुमिका निभाएका प्रदिप भट्टराईको कामलाई पनि दर्शकले तारिफ गरे ।

फिल्मलाई मल्टिप्लेक्स दर्शकले मन पराउने विश्वास निर्माण टिमको छ । फिल्मलाई राजधानीमा गोपालकाजी कायस्थ र राजधानी बाहिर एफडि कम्पनीले वितरण गदैछन् । ट्रेलर रिलिज बिना नै रिलिजको तयारीमा रहेको फिल्मलाई धरानमा खिचिएको छ । गौरिशंकर धुँजु र धिरज राजवंशी निर्माता रहेको फिल्मलाई दिर्घ गुरुङ र निर्णय जिसीले खिचेका हुन् । प्रमोद क्षेत्रीले लेखेको कथामा तयार फिल्मलाई निमेश श्रेष्ठले सम्पादन गरेका छन् ।