तारानाथलाई ज्योति साधक सम्मान

काठमाडौं । शहिद दिवसको अवसर पारेर ज्योति साहित्य प्रतिष्ठानले ११ औं वार्षिकोत्सव गर्दै प्राडा तारानाथ शर्मालाई ‘ज्योति साहित्य विशिष्ट साहित्य साधक सम्मान’बाट सम्मानित गरिएको छ । राजधानीको नेपाल पुलिस क्लबमा भएको कार्यक्रममा नेपाल पज्ञा प्रतिष्ठानका उपकुलपति डा. विष्णुविभु घिमिरे तथा प्राध्यापक तुलसी दिवसले शर्मालाई सम्मान गरे ।

कार्यक्रममा साहित्यकारहरु हिरण्यकुमारी पाठक, विष्णुबहादुर सिंह, नरेन्द्रबहादुर श्रेष्ठ तथा असम भारतका रण काफ्लेलाई ‘ज्योति स्रष्टा सम्मान’, प्रतिष्ठानका सदस्यहरुमध्येबाट राजनविक्रम थापालाई ‘ज्योति प्रतिभा सम्मान’ तथा समाजसेवीद्वय कृष्णबहादुर थापा र इन्द्रकुमार श्रेष्ठलाई ‘ज्योति समाज सेवा सम्मान’ प्रदान गरियो ।

कार्यक्रममा प्राध्यापक राजेन्द्र सुवेदीले प्राडा शर्माको व्यक्तित्वको बारेमा प्रकाश पार्दै नेपाली भाषा र साहित्यका मानक व्यक्तित्वको रुपमा चित्रण गरे । असम भारतका युवा साहित्यकार रण काफ्लेले ज्योति स्रष्टा सम्मानले आफुमा नयाँ उर्जा थपिएको र भविष्यमा साहित्यको उत्थानमा लागि रहने वचनबद्धता व्यक्त गरे ।

कार्यक्रममा डा. बेन्जु शर्मा, त्रिभुवनचन्द्र वाग्ले, रामबहादुर पहाडी, प्रेम राई, शंकरकुमार राईलगायतले कविता, गजल वाचन गरेका थिए । प्रतिष्ठानका अध्यक्ष मणिराज सिंहले प्रतिष्ठानका आजिवन सदस्यहरुलाई सम्मान गर्दै साहित्यकारहरुको सम्मान जिउँदो अवस्थामा नै गर्न आवश्यक देखेर कार्यक्रम गरिएको बताए ।