इलामे विमललाई एलिसाको रुपको झट्का

काठमाडौं । इलामे गायक विमल गौतमको नयाँ गीत ‘रुपको झट्का’को भिडियो सार्वजनिक भएको छ । एक दर्जन बढी गीत श्रोतामाझ ल्याइसकेका गायक विमलको भिडियोमा मोडल एलिसा राई र गम्भीर विष्टले फिचरिङ गरेका छन् ।

फिल्म ‘लुट २’को ‘ठमेल बजार’ गीतबाट चर्चामा आएकी एलिसा र थुप्रै फिल्म तथा म्युजिक भिडियोमा कोरियोग्राफीको अनुभव संगालिसकेका गम्भीरको जोडी भिडियोमा निकै जमेको छ । भिडियोमा ह्याण्ड टु ह्यान्ड क्रुलाई पनि देख्न सकिन्छ । नवराज उप्रेतीको छायांकन रहेको भिडियोको निर्देशन गम्भिर आफैले गरेका हुन् ।बुढासुब्बा म्यूजिक कम्पनीमार्फत युट्युवमा सार्वजनिक भएको गीतमा गायक विमलको नै संगीत छ भने शब्दमा उनले प्रकाश श्रेष्ठसँग सहकार्य गरेका छन् ।

गायक विमलले युवापुस्ताले बोलीचालीमा प्रयोग गर्ने भाषालाई गीतको शब्दमा समावेश गरिएको बताए । ‘संगीतमा लोकपन र आधुनिताको फ्युजन रहेको छ । फाष्ट बीटको डान्सिङ नम्बर भएकोले युवाहरुलाई विशेषतः यो गीतले आकर्षण गर्नेछ ।’ उनले भने । गायक विमलको यसअघि सार्वजनिक ‘यो घरबाट’ भिडियो निकै चलेको थियो ।