तस्कर बने विपिन कार्की !

काठमाडौं । नायक विपिन कार्कीको फिल्म नै पिच्छे फरक फरक भूमिका देखिन्छ । त्यही फरक भूमिकाकै कारण पनि उनलाई दर्शकले मनपराउँछन् । फरक भूमिकामा देखिन रुचाउने विपिन नयाँ फिल्म ‘नाका’मा तस्कर बनेका छन् । नयाँ लुक्स र गेटअपमा देखिएका विपिनको रुप फिल्मको सार्वजनिक ट्रेलरमा निकै रोचक देखिन्छ ।

शुक्रबार राजधानीमा एक कार्यक्रम गर्दै सार्वजनिक गरिएको ट्रेलरमा फिल्म भित्रका उतारचढावलाई देखाइएको छ । निर्देशक अमित श्रेष्ठका अनुसार फिल्मले चीनसँग सिमाना जोडिएको सिन्धुपाल्चोकमा फस्टाउँदै गरेको रक्तचन्दन, मानव तस्करी, डलर तस्करीलगायतका विषयलाई समेटेको छ । फिल्ममा तस्कर तस्करबीचको प्रतिष्पर्धालाई पनि प्रष्ट रुपमा देखाइएको छ ।

प्रविण कार्की(टक्की) निर्माता रहेको फिल्ममा विपिनसँगै रविन तामाङ, थिन्ले लामो, शिव मुखिया, प्रकाश गन्धर्भ, सुजन थापा मगर, राम भजन कमत, अभिषेक सुवेदी, केशव राई लगायतका कलाकारहरुको अभिनय छ । आगामी फागुन १७ गते उपत्यकाबाहिर र फागुन १८ गते उपत्यकामा रिलिज हुने फिल्ममा अभिषेक सुवेदीको पटकथा तथा शिशिर गुरुङ र निर्देशक श्रेष्ठ कार्यकारी निर्माता छन् । फिल्मका छाँयाकार चिन्तनराज भण्डारी हुन् ।