माझी बस्तीलाई कान्छी म्युजिकल नाइट

काठमाडौं । नायिका तथा निर्मात्री स्वेता खड्काले अभिनेता पति स्वर्गीय श्रीकृष्ण श्रेष्ठको स्मृतिमा स्थापित श्वेत श्री फाउण्डेशनले श्रीकै गृहजिल्ला सिन्धुपाल्चोकमा रहेको निर्माणाधीन माझी बस्ती निर्माणमा सहयोग जुटाउन आगामी माघ २३ गते ‘कान्छी म्युजिकल नाइट २०१८’ हुने भएको छ । दरबारमार्गस्थित होटल अन्नपूर्णमा आयोजना हुने उक्त साँझमा फिल्म ‘कान्छी’टिमसहित नेपाली फिल्म र सांगीतिक क्षेत्रका दर्जनौं व्यक्तिहरुको सहभागीता रहने फाउण्डेशनकी अध्यक्ष श्वेता खड्काले बताइन् । स्वेताले निर्माण गरेको फिल्म ‘कान्छी’ फागून ४ गते रिलिज हुँदैछ ।

कार्यक्रममा श्वेता, अभिनेता दयाहाङ राई, गायिका अञ्जु पन्त, संगीतकार तथा गायक राजनराज सिवाकोटी, हाँस्य कवि शैलेन्द्र सिम्खडा, गायक युवराज चौंलागाईं, कमेडियन सन्दिप क्षेत्री, गायिका माण्डवी त्रिपाठी, संगीतकार तथा गायक अर्जुन पोखरेल, गायक धर्मेन्द्र सेवन, कलाकार जितु नेपाल, निर्देशक आकाश अधिकारी, नृत्य निर्देशक बसन्त श्रेष्ठ, नायिका अशिष्मा नकर्मी, मरिस्का पोखरेल, जेविका कार्की तथा नायक विनोद न्यौपानेले आफ्नो प्रस्तुति दिनेछन् ।

नायिका तथा निर्मात्री स्वेताले सांस्कृतिक कार्यक्रममार्फत उठेको रकमले बस्ती निर्माण गर्न सहयोग पुग्ने बताइन् । ‘यो मनोरञ्जनको माध्यममात्र होइन, एउटा सामाजिक कामका लागि सहयोग पनि हो ।’ उनले भनिन् ।