वादी कथामा नथिया बनाउँदै दीपेन्द्र

काठमाडौं । फिल्म ‘चपली हाइट’, ‘भिजिलान्ते’, ‘पशुपति प्रसाद’, ‘धनपति’ जस्ता फिल्म निर्देशन गरिसकेका निर्देशक दीपेन्द्र के खनालले अब वादी समुदायको कथामा फिल्म बनाउने भएका छन् । उनले सरस्वती प्रतिक्षाको शनिवार सार्वजनिक भएको पुस्तक ‘नथिया’मा आधारित रहेर फिल्म बनाउन लागेका हुन् ।

पुस्तक सार्वजनिक कार्यक्रममा उनले आफूलाई उपन्यासले प्रभावित पारेकाले त्यसैमाथि फिल्म बनाउने सोच आएको बताए । डिएस डिजिटल र भूपेन्द्र खड्का प्रोडक्सनले निर्माण गर्ने उक्त फिल्मको प्राविधिक तयारीसमेत शुरु भएको छ ।

‘केही दिन अघि मात्र फिल्मको लागि सम्झौता भएको छ, अब कथा लेखनको काम विस्तारै शुरु हुनेछ,’दीपेन्द्रले भने,‘प्रारम्भिक अवस्थामा रहेकाले कलाकार को लिने भन्ने निक्यौल गरिएको छैन ।’ उनले पुस्तकमाथि बनेका फिल्म व्यावसायिक रुपमा सफल हुन नसके पनि ‘नथिया’ त्यसभन्दा बिल्कुल फरक हुने दाबी गरे । फरक फ्लेबरका फिल्म बनाउन चिनिएका दीपेन्द्रले ‘नथिया’लाई आफ्नो ड्रिम प्रोजेक्ट रहेको बताए ।