कलाकार खोज्दै ‘सलहेसः द पिपुल्स हिरो’

काठमाडौं । १५ सय वर्षअघिको ऐतिहासिक कथामाथि बन्न लागेको फिल्म ‘सलहेसः द पिपुल्स हिरो’ले चरित्र अनुसार कलाकारको छनौंट गर्न अडिसन गर्ने भएको छ । मिथिलाका राजा सलहेसको गाथामाथि निर्माण हुने यो फिल्मका लागि सोमबार कलाकारको अडिसन आव्हन गरिएको छ । फिल्ममा रहने सलहेस ः राजाजयवर्दन शैलेस, मन्दोदरी, भैरव भुपाल, मोतिराम, बृधेश्वर, करिकन्हा, राजा सैनी, रेश्मा, हिनपत लगायत ३० ऐतिहासिक मुख्य पात्रहरुसहित दर्जनौँ सहायक भूमिका पनि अडिसनबाटै छनौट गरिने फिल्मका निर्देशक अमितेश शाहले बताए ।

‘यो फिल्म ऐतिहासिक कथामाथि बन्ने भएकाले हामीले चरित्र सुहाउँदा कलाकार छनौट गर्छौ । चलेकै कलाकार राख्दा पनि चरित्रअनुसार अडिसन गराएरै राख्छौँ,’ निर्देशक शाहले भने । कलाकारिता रुची भएका जोकोहीले एक महिनाभित्र फिल्मका लागि आवेदन गर्न सक्ने निर्माता राजकुमार महतोले बताए । महताको अनुसार आवेदनका आधारमा कलाकार खोज्दै फिल्म युनिट अडिसनका लागि देशको विराटनगर, जनकपुरधाम, नेपालगञ्ज, काठमाडौंसहित भारतको दरभंगा, पटना, मुम्बई, दिल्ली, कलकत्ता, बंगलादेशको ढाका र चीनको बेइजिङसम्म पुग्नेछ ।

अडिसनमा सहभागी हुन चाहनेले फिल्मको अफिसियल फेसबुक पेज, वेभसाइट या जिमेलमार्फत फर्म भर्न सक्नेछन । देशका विभिन्न स्थानमा फर्म उपलब्धताको व्यवस्था समेत गरिएको निर्माता महताले जानकारी दिए । ‘यो प्रतिभा भएका तर अवसर नपाएकाहरुका लागि कलाकार बन्ने सुनौलो अवसर पनि हो,’ अडिसनमा सहभागी हुन उनले नयाँ कलाकारलाई आग्रह गर्छन् ।

भोर कम्पनी प्रालिको प्रस्तुतिमा बन्ने यो फिल्मका प्रमुख पात्र सलहेस मिथिलामा राजा जनकपछिको प्रादुर भाव भएको व्यक्तित्व मानिन्छन् । उनलाई तराईंको दुसाध समुदायले अहिले पनि भगवानका रुपमा पूजा गर्छन् । ‘लामो समयको रिसर्च पछि हामी फिल्म बनाउने निष्कर्षमा पुगेका हौं,’ फिल्मका निर्माता समेत रहेका रिसर्चर राजकुमार महतोले बताए । फिल्मलाई अमितेश साहले निर्देशन गर्ने भएका छन् । निर्देशनमा उनको यो पहिलो फिचर फिल्म हुनेछ । ६० भन्दा बढी नाटकको निर्देशन गरिसकेका अमितेशले सर्ट फिल्म ‘कमला’ बनाएका छन् । यो फिल्मले अन्तराष्ट्रिय फिल्म महोत्सवहरुमा अवार्डसमेत जितेको छ ।

करिब पाँच करोड अनुमानित बजेट राखिएको यो फिल्मको छायांकन धनुषा, महोत्तरी, सिरहा, सप्तरी, सुनसरी, मोरड, झापा, चितवन र भारतका स्थानहरु हुने निर्माता महतोले जानकारी दिए । ‘स्क्रिप्ट र रिसर्चका केही कामहरु बाँकी रहेकाले निर्माण घोषण भएको करिब एक वर्षपछि हामी अडिसनमा जाँदैछौं,’ निर्देशक शाहले भने, ‘अब काम द्रुतगतीमा हुन्छ । कलाकार छनौट हुनेवित्तिकै वर्कशप गर्छौ त्यसपछि सुटिङमा जानेछौँ । फिल्ममा भिएफएक्स अनुपम शाह, कथा डा. राजेन्द्र विमल, संवाद महेन्द्र मलगिंया र पटकथा निर्देशक शाहकै रहनेछ। सुनिल–प्रवेशको संगीत, डा. विमल, अशोक दत्त र ईश्वर दाहालको गीत रहनेछ। यो। ऐतिहासिक फिल्म भएकाले भिएफएक्सको पनि प्रयोग गरिने निर्देशक शाहले बताए।