डण्डिबियो खेल्दै आए खगेन्द्र

काठमाडौं । कलाकार खगेन्द्र लामिछाने हरेक फिल्ममा फरक फरक भूमिका निभाउन चाहन्छन् । उनी अभिनित सबै फिल्म हेर्दा फरक फरक चरित्रमा उनलाई देख्न पाइन्छ । उनी नयाँ फिल्म ‘डमरुको डण्डिबियो’मा डण्डिबियो खेल्दै गरेको चरित्रमा देखिएका छन् । फिल्मको सार्वजनिक फष्टलुकमा खगेन्द्रलाई ढाडमा केही सामान बोकेर डण्डिबियो खेल्दै गरेको देख्न पाइन्छ ।

फिल्म लेखनमा सफल लेखक छेतन गुरुङको डेब्यु निर्देशन रहेको फिल्ममा खगेन्द्र लामिछाने, अनुप बराल, मेनुका प्रधान, नमिता घिसिङ, बुद्धि तामाङ, अंकित खड्का, आशान्त शर्मा, लक्ष्मी बर्देवा, मिश्रि थापा, इंगी होपो कोइच सुनुवारलगायतका कलाकारको अभिनय रहेको छ ।

समृद्धि इन्टरटेनमेन्टको व्यानरमा सुमी श्रेष्ठ घले र विनोद गुरुङको लगानी रहेको फिल्म काठमाडौ र लमजुङको घले गाउँमा छायांकन गरिएको हो । निर्देशक छेतेनले फिल्मले लोप हुँदै गएको डण्डिबियो खेलको प्रवद्र्धन गर्ने बताए । फिल्ममा हरि हुमागाईको छायांकन, कालीप्रसाद बास्कोटाको संगीत, प्रितम पाण्डेको सम्पादन र खगेन्द्र लामिछानेको सहलेखन छ ।