धुर्मुस–सुन्तलीको एकीकृत नमूना बस्ती हस्तान्तरण

रौतहट । राष्ट्रपति विद्यादेवी भण्डारीले धुर्मुस सुन्तली फाउण्डेशनले निर्माण गरेको सन्तपुर एकीकृत नमूना दलित बस्तीको साँचो नमूना बस्ती निर्माण समितिका अध्यक्ष सत्यनारायण माझीलाई मंगलबार हस्तान्तरण गरेकी छन् । राष्ट्रपति भण्डारीले चन्द्रपुर नगरपालिका वडा नं ८ सन्तपुरमा निर्मित नमूना दलित बस्ती हस्तान्तरण समारोहमा कलाकारद्वय सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ले समुदायको विकासका लागि अतुलनीय काम गरेको बताइन् ।

‘देशलाई समृद्ध बनाउने काम सरकारको भए पनि धुर्मुस–सुन्तलीले राज्यले गर्नुपर्ने काम गरेका छन् । यो एकदमै अतुलनीय छ ।’ उनले भनिन् । प्रदेश नंं २ मा विकासका धेरै आधार भएकाले सरकारले स्रोत र साधनलाई उपयोग गर्नुपर्नेमा जोड दिइन् । भण्डारीले फाउण्डेशनले बस्ती निर्माण गरेर समतामूलक समाज निर्माणका लागि कल्याणकारी कामको अनुपम उदाहरण दिएको बताइन् । कलाकारको प्रयासबाट यस्तो नमुना बस्ती बनेकामा आफू गौरवान्वित भएको बताउँदै राष्ट्रपतिले सामुदायिक हितका लागि यस्ता काम सरकारले गर्नपर्ने जनाइन् ।

कार्यक्रममा राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका कार्यकारी निर्देशक युवराज भुसालले समृद्ध नेपाल विकासका लागि धुर्मुुस–सुन्तलीको काम ठूलो उदाहरण भएको बताए । हास्य कलाकार महजोडीले पनि नमूना बस्तीको खुलेर प्रशंसा गर्दा फाउण्डेसनका अध्यक्ष सीताराम कट्टेलले सो बस्ती निर्माण सबै सहयोगी हातबाट भएको बताए । कलाकार कट्टेल र कुञ्जना घिमिरेद्वयको पहलमा सन्तपुरमा बाढीपीडित दलित परिवारका लागि भूकम्प प्रतिरोधात्मक सुविधासम्पन्न ४७ घर निर्माण भएको छ । गत असोज ४ गते शिलान्यास भएको सो नमूना बस्तीमा सामुदायिक भवन, मन्दिर, क्लब, दृश्यावलोकनस्तम्भ निर्माण भएका छन् ।

गत साउनमा आएको बाढीले सो गाउँका दलित परिवारका घर डुबानमा परेको थियो । करिब रु पाँच करोड ९५ लाखको लागतमा निर्मित सो बस्ती निर्माणमा कलाकार कट्टेल दिनरात आफैँ खटेका थिए । बस्ती विकलांगमैत्री, बालमैत्री, वातावरणमैत्री भएको कट्टेलले बताए । धुर्मुस–सुन्तली फाउण्डेशनको सो चौथो परियोजना हो ।