मायासे लासीमा अयोग्य महिला लडाकुको कथा

काठमाडौं । ह्याङ्ला को म्हेन्दो मिडिया हाउस र सक्सेस फिल्मको ब्यानरमा फिल्म ‘मायासे लासी’ अर्थात ‘मायाले गर्दा’ निर्माण भएको छ । डिबी मोक्तान निर्देशित फिल्ममा भगवती मोक्तानको लगानी छ । फिल्ममा कार्यकारी निर्माता प्रेम लामा मोक्तान, सह–निर्माता माईली घिसिङ तथा निर्माण सहयोगी गणेश घिसिङ छन् । फिल्ममा प्रकाश मोक्तानको कथा तथा पटकथा रहेको छ ।

फिल्ममा कुमार मोक्तान, सीता थिङ, अमर लामा, माइली घिसिङ, मणिक लामा, अर्जुन लामा, चन्द्रलाल लामा, कोपिला लामालगायत कलाकारको अभिनय छ । हाँस्य कलाकार गोकुल तामाङको जोडदार हास्य भूमिकाले फिल्मलाई लोभलाग्दो बनाएको छ । १० वर्षे सशस्त्र संघर्षपछि भएको सेना समायोजनमा अयोग्य लडाकू भएर गाउँ फर्किएकी युवतीको सङ्घर्षपूर्ण कथालाई फिल्मले समेटेको छ ।

निर्माण पक्षका अनुसार फिल्म तामाङ भाषामा भए पनि ३० प्रतिशत संवाद नेपाली भाषामा रहेको छ । यसैले यो चलचित्रलाई गैरतामाङ भाषीले पनि सजिलै बुझ्न सक्नेछन् । फिल्ममा कुमार स्याङ्वाको गीत र विशाल कात्लानको संगीत रहेको छ । चारवटा गीत रहेको फिल्ममा सन्तोष लामा, विशाल कात्लान र जितु लोप्चनको स्वर छ । फिल्ममा शंकर महर्जनको द्वन्द्व र सुनिल मोक्तानको कोरियोग्राफी रहेको छ । फिल्मको विशेष प्रदर्शनी राष्ट्रिय नाचघर जमलमा माघ २७ गते गरिने छ ।