बल्छीध्रुवेको जन्मदिनमा जलजलालाई दश हजार सहयोग

काठमाडौं । पछिल्लो समयमा कलाकारहरुले आफ्नो जन्मदिन सामाजिक काम गरेर मनाउन थालेका छन् । त्यसैको निरन्तरतामा टेलिभिजनमा ‘बल्छीध्रुवे’का रुपमा परिचित हाँस्य कलाकार मरिचमान श्रेष्ठले गायिका जलजला परियारलाई १० हजार रुपैंयाँ आर्थिक सहयोग गरेका छन् ।

दुवै मृगौलाले काम गर्न छाडेपछि त्रिभुवन शिक्षण अस्पतालमा उपचाररत गायिका परियारलाई कलाकार मरिचमानले अस्पतालमा नै पुगेर परिवारलाई १० हजार रुपैंयाँ हस्तान्तरण गरेका हुन् । उनले आफ्नो रकम र भुटानी समाज अमेरिकाबाट प्राप्त ८७ हजार ६ सय ५६ सहित जम्मा ९६ हजार ६ सय ५६ रुपैंयाँ जलजलाका आमाबाबुलाई दिएका हुन् ।

त्यसक्रममा मरिचमानले गायिका जलजलासँग भलाकुसारी पनि गरेका थिए । ‘जन्मदिन साथीहरुसँग पार्टी गरेर पैसा सक्नुभन्दा सामाजिक काममा खर्च गर्ने सोच आएपछि जलजलालाई सहयोग गरेको हुँ ।’ उनले भने । नेपाली तारा सिजन –३ मा उत्कृष्ट ६ बाट बाहिरिएकी गायिका जलजला पछिल्लो समय शास्त्रीय संगीतको अध्ययन गरिरहेकी थिइन् । उनलाई पछिल्लो समयमा सहयोग गर्ने कलाकारको आर्थिक सहयोगको क्रम जारी रहेको छ ।