बसन्तले लाइफटाइम पाउँदा बसुन्धरा भावुक

काठमाडौं । सिन्धुलाल्चोकमा निर्माणाधिन माझी बस्तीको सहयोगार्थ नायिका तथा निर्मात्री श्वेता खड्काको संस्था स्वेताश्री फाउण्डेसनले आयोजना गरेको ‘कान्छी म्युजिकल नाइट’मा नृत्य निर्देशक बसन्त श्रेष्ठलाई लाइफटाइम अचिभमेन्ट अवार्डबाट सम्मान गरिएको छ । उनलाई ५१ हजार रुपैंयाँ रकमसहित सम्मान गरिएको हो । स्वेताका नृत्य गुरुसमेत रहेका बसन्तलाई स्वेताले नै सम्मान गरेकी थिइन् ।

नेपालको पहिलो हाँस्य साम्राज्ञी बसुन्धरा भूषाल र रक्षा नेपालकी प्रमुख सामाजिक अभियन्ता मेनुका थापालाई पनि कार्यक्रममा विशेष सम्मान गरिएको थियो । अभिनेत्री भूषाल सम्मान ग्रहणपछि भावुक बन्दै मञ्चमै रोइन् । यता युवा फिल्म सम्पादक भूपेन्द्र अधिकारी र माझी बस्ती निर्माणमा सक्रिय रुपमा लागि परेका यज्ञराज कार्कीलाई प्रोत्साहन पुरस्कार दिइयो । कार्यक्रममा संगीतकार राजनराज सिवाकोटीलाई बाइक दिइएको थियो । संगीतकार सिवाकोटीको संगीत रहेको फिल्मको ‘चरी चट्ट परी भुरुरु’ले युट्युबमा एक करोड बढी दर्शक पाएपछि उनलाई बाइक उपहार दिइएको हो ।

कार्यक्रममा स्व.अभिनेता श्रीकृष्ण श्रेष्ठको सम्झनामा नायिका अशिष्मा नकर्मी, जेविका कार्की, नायक विनोद न्यौपाने र कोरियोग्राफरले विभिन्न हिट गीतमा आफ्नो प्रस्तुत दिए । नायक तथा निर्देशक आकाश अधिकारी र नायिका मरिस्का पोखरेलले पनि कम्मर मर्काएका थिए । हाँस्य कलाकारद्वय जितु नेपाल र सन्दिप क्षेत्रीले दर्शक हँसाउँदा धर्मेन्द्र सेवन, युवराज चौंलागाईं र माण्डवी त्रिपाठीले ‘कान्छी’को गीत गाए । हाँस्य कवि शैलेन्द्र सिम्खडाले कविताबाटै हँसाए ।

कार्यक्रममा अभिनेत्री भुवन चन्द, चैत्यदेवी सिंह, फिल्मकर्मी नीर शाह, हरिहर शर्मा, गौरी मल्ल, अभिनेत्री करिश्मा मानन्धर, अभिनेता दयाहाङ राई, पुर्व प्रधानसेनापति रुक्मान्द कटुवाल, डिआइजी रमेश खरेल, तेक्वन्दो खेलाडी दिपक विष्ट, डा.भोला रिजाल लगायतको उपस्थिति थियो ।श्वेताले सहभागी सबैलाई धन्यवाद दिदैं माझी बस्ती निर्माणमा सहयोग गर्ने सम्पूर्ण सहयोगी मनप्रति कृतज्ञता प्रकट गरिन् । श्वेताले बनाएको फिल्म कान्छी फागुन ४ गतेदेखि प्रदर्शन आउँदैछ ।