प्रेममा जितेपछि केकीको हुर्रे हुर्रे

काठमाडौं । वास्तविक जीवनमा नायिका केकी अधिकारीको प्रेमी को छन् भन्ने अहिलेसम्म कसैलाई थाहा छैन । तर फिल्मी पर्दा भित्र उनले धेरै प्रेमी पाएकी पनि छन् र उत्तिकै मात्रामा गुमाएकी पनि छन् । आगामी फागुन २५ गते रिलिज हुने फिल्म ‘हुर्रे’मा झण्डै चार जनाको संख्यामा प्रेमी पाए पनि उनले ती सबैलाई जितेकी छन् । अर्थात उनी प्रेममा सफल भएकी छन् ।

फिल्मको बुधबार सार्वजनिक ट्रेलरमा केकीले आफूले प्रेममा जित पारेको भन्दै ‘हुर्रे हुर्रे’ संवाद बोलेकी छन् । ट्रेलरमा विजय बराल, राजाराम पौडेल, अंकित खड्का, अनुपविक्रम शाही, राजनराज शिवाकोटी, प्रकाश घिमिरेलगायतका कलाकारले फिचरिङ गरेका छन् ।

दी याखा फिल्मस्को व्यानरमा निर्माण भएको फिल्ममा संगिता नापितको पनि अभिनय छ । यम थापाको पटकथा, संवाद, लेखन तथा निर्देशन रहेको फिल्ममा कालीप्रसाद बासकोटा, राजनराज शिवाकोटीको संगीत, चन्दन दत्तको सम्पादन, शिव ढकालको छायांकन छ । फिल्ममा अरुण सुवेदीको सह निर्माण तथा दावा शेर्पा सेट्टी, सोनाम लामा ब्लोन र छिरिङ दोर्जे लामाको लगानी छ ।