दीपक–दीपाले कसे लगनगाँठो !

काठमाडौं । हाँस्य कलाकार दीपकराज गिरी र दीपाश्री निरौला एकापसमा मिल्ने साथी हुन् । अविवाहित दीपाश्री र विवाहित दीपकराजको घनिष्ठताले कहिलेकाँही उनीहरुको वास्तविक सम्बन्ध के हो भन्ने प्रश्न पनि चलिरहेको छ । यही परिप्रेक्ष्यमा यो जोडी वैवाहिक जीवनमा बाँधिएको तस्वीर सार्वजनिक भएको छ । तर उनीहरुको यो तस्बीर भने वास्तविक होइन् ।

उनीहरुले अभिनय गरेको सर्ट फिल्म ‘हुन्नरी’मा यो जोडीलाई दुलाहा दुलही रुपमा दर्शकले देख्न पाउँछन् । सामाजिक सुरक्षा भत्ताबारे चेतना जगाउन निर्माण गरिएको फिल्ममा दीपक र दीपा प्रेमीप्रमीकाको रुपमा देखिएका छन् । शारीरिक रुपले अशक्त सोझो गाउँले केटाको भुमिकामा दीपकले अभिनय गरेका छन् भने दीपा विधवा महिलाको भूमिका देखिएकी छिन् । समाजलाई चुनौति दिँदै यि दुईले विवाह गरेर सामाजिक सुरक्षा भत्ता बापत पाएको पैसा बचत गरेर ठुलो काम गर्न सफल भएको विषयलाई फिल्ममा देखाइएको छ ।

सामाजिक सुरक्षा भत्ताको सही सदुपयोग भएमा थोपा थोपा संकलन गरेर गतिलो काम गर्न सकिने सन्देश फिल्मले दिएको छ । केन्द्रिय पञ्जिकरण विभागका लागि सेभ द चिल्ड्रेनको सहयोगमा शुभ मिडिया होमले निर्माण गरेको यस फिल्मलाई दीपक आचार्यले निर्देशन गरेका हुन् । अभिमन्यु निरवीको लेखन रहेको फिल्म गोकुल अधिकारीले खिचेका हुन् भने अमन मानन्धरले सम्पादन गरेका हुन् । फिल्ममा दीपक दीपासँगै देशभक्त खनाल, लक्ष्मण विक्रम बस्नेत, लक्ष्मी गिरी, निरु खड्का, दीपक आचार्य, कमला रेग्मी, गीता थापा, अप्सरा अधिकारी लगायतको अभिनय छ ।